२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

डिजिटल कारोबारमा नेपालीको आकर्षण, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते २१:१४
डिजिटल कारोबारमा नेपालीको आकर्षण, २ वर्षमै थपिए ८९ लाख वालेट प्रयोगकर्ता

काठमाडौं : प्रविधिको विकाससँगै बैंकिङ कारोबारमा डिजिटल कारोबार बढ्दै गएको छ । मानिसहरु नगद तथा चेकको सट्टामा डिजिटल कारोबारतर्फ आकर्षित हुँदै गएको तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंकका पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २ वर्षको अवधिमा मात्रै वालेट प्रयोगकर्तामा ८९ लाख ३९ हजार १२९ जनाको संख्या थपिएको छ । वि.सं. २०७९ असार मसान्तसम्म वालेटका प्रयोगकर्ताहरुको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना रहेकोमा २०८१ बैशाखमसान्तसम्म आइपुग्दा २ करोड २६ लाख १५ हजार १२२ जना पुगेका हुन् ।

वालेटको प्रयोगकर्ताको संख्यामा वृद्धि भएसँगै वालेटबाट गर्ने डिजिटल कारोबार संख्या र रकम पनि बढ्न पुगेको छ । २०७९ असार महिनामा वालेटबाट १७ अर्ब ७५ करोड २० लाख बराबरको कारोबार भएकोमा यस्तो कारोबार २०८० वैशाखको महिनामा १९ अर्ब २५ करोड ५० लाख, २०८० असारमा २० अर्ब ३२ करोड ६० लाख, सोही वर्षको चैत महिनामा २६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको भएको थियो । २०८१ वैशाख महिनामा वालेटबाट हुने कारोबारमा थप वृद्धि भएर २८ अर्ब ४३ करोड ९० लाख पुगेको छ ।

त्यस्तै, पछिल्लो समयमा मोबाइल बैंकिङका प्रयोगकर्ता पनि निरन्तर वृद्धि हुँदै गएका छन् । २०७९ असारमा एक करोड ८३ लाख ७ हजार मोबाइल बैंकिङका प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्म आइपुग्दा दुई करोड ३७ लाख ९७ हजार पुगेको देखिन्छ । त्यस्तै, २०७९ असारसम्म १६ लाख ८४ हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ बैशाखसम्ममा १९ लाख ३८ हजार ८८८ जना पुगेका छन् । २०७९ असारमा मोबाइल बैंकिङमार्फत् १ खर्ब ६३ अर्ब २५ करोडको कारोबार भएकोमा २०८१ बैशाखमा आइपुग्दा ३ खर्ब २० अर्ब १९ करोड बराबर पुगेको तथ्यांकले देखाएको छ ।

डिजिटल कारोबारको वृद्धिसँगै पछिल्लो समयमा कनेक्ट आइपीएस प्रयोगकर्ताहरु पनि वृद्धि भएका छन् । २०७९ असारमा कनेक्ट आइपिएसबाट तीन खर्ब ६९ अर्ब २३ करोड ३० लाख बराबरको कारोबार भएकोमा २०८१ वैशाखसम्म सो कारोबार रकम बढेर पाँच खर्ब २२ अर्ब ७० करोड पुगेको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise