२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विश्वास जोगाउनुपर्ने चुनौती

ADV
२०८१ भदौ २५ गते ०६:३०
विश्वास जोगाउनुपर्ने चुनौती

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पदबाट बिपुल पोखरेलले राजीनामा दिएका छन् । तेस्रोपटक तोकिएको मितिमा समेत महाधिवेशन गराउन नसकेपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई राजीनामा पत्र बुझाउँदै पोखरेलले महासंघको कार्यबाहक नेतृत्व पनि बिष्टलाई नै दिएका छन् । पोखरेलले अध्यक्ष पदबाट राजीनामा बुझाएसँगै आगामी ५ असोजका लागि तोकिएको महाधिवेशन फेरि अनिश्चित बनेको छ । यसअघि दुईपटक मिति तोकेर पनि महाधिवेशन हुन सकेको थिएन । तेस्रोपटक तोकिएको मितिमा पनि महाधिवेशन नभएपछि केन्द्रीय अध्यक्ष पदबाट पोखरेलले राजीनामा दिए । यसरी महासंघका अध्यक्षले पदबाट राजीनामा दिनुको पछाडि भने सदस्यतासँग जोडिएको विवाद मूख्य कारण हो । र सदस्यताको विवाद राजनीतिक दलहरुसँग जोडिएको प्रष्ट छ । 

दलैपिच्छै पत्रकार संगठन रहेको तथ्य लुकेको छैन । लोकतान्त्रिक अभ्यास कायम रहेकोे मुलुकमा दलहरु निकट रहेर पत्रकार संगठन गठन गरिनु स्वभाविक हो । अझ नेपालको राजनीतिक तथा नागरिक अधिकारको संघर्षमा पत्रकार संगठनहरुको महत्वपूर्ण भूमिका छ । त्यसो हुँदा दलहरु निकट पत्रकार संगठनको अस्वित्वको वैधानिक आधार मात्र नभएर गौरवपूर्ण इतिहास पनि पाइन्छ । राणा र राजाको निरकुंशताविरुद्ध पत्रकार संगठनहरुले नागरिक अधिकार प्राप्तिको लडाइँमा अग्रपंक्तिमा उभिएर संघर्ष गरेका थिए । त्यसैले वर्तमान व्यवस्था उपभोगमा ती संगठनहरुको बलियो हक छ । तर हक उपभोगको दौरानमा गौरवपूर्ण इतिहास बोकेका सामाजिक संस्थाहरुकै बद्नामी राम्रो होइन । अहिले भइरहेको चाहिँ गौरवपूर्ण इतिहास बोकेको नेपाल पत्रकार महासंघमा अतिराजनीति नै हो । 

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र निकट पत्रकार संगठनहरुमै धेरै पत्रकार आवद्ध छन् । तर मुलतः यिनै दलहरुले नेतृत्व हत्याउने उद्देश्यले महासंघमाथि अतिराजनीतिकरण गरिरहेका छन् । अझ सत्ता राजनीतिको प्रष्ट फोटोकपी महासंघमा देखिदै आएको छ । अहिलेको समस्या भनेकै सत्ता समीकरण बमोजिम नेपाल पत्रकार महासंघको नेतृत्व हत्याउने समीकरण बनाउनुपर्ने बाध्यता हो । तर सत्ता समीकरण लगातार परिवर्तन भइरहँदा महासंघले महाधिवेशन नै गराउन नसक्ने परिस्थिति सिर्जना भएको छ । यसले नेपालको पत्रकारितामा हुनुपर्ने विश्वासलाई नै कमजोर बनाउने निश्चित छ । किनकि महासंघ नेपालका सबै पत्रकारहरुको छाता संगठन हो । त्यही संगठनमाथि चरम राजनीति हुनु, महाधिवेशन नै गराउन नसकेर अध्यक्षले राजीनामा दिनु जस्तो परिस्थिति उत्पन्न भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise