काठमाडौंः नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न एकै पटक एक खर्ब निक्षेप तान्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण प्रयोग गरी एक खर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २० गते रहेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम जारी छ । साथै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। यसैअनुरुप केन्द्रीय बैंकले समय–समयमा निक्षेप तान्ने गरेको छ ।