२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको छ’

Nada
२०८१ भदौ ३० गते १६:३०
Shares
‘प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको छ’

काठमाडौःं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनसँगै प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको बताएका छन् ।    सुदूरपश्चिम सरोकार मञ्चकोतर्फबाट प्रतिनिधिसभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनीतिक दलले आज बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले विद्युत्को प्रसारणलाइनको क्षमता बढाउने गरी सरकारले काम गरिरहेको उल्लेख गरे । ‘विद्युत् उत्पादनसँगै प्रसारणलाइनको समस्या देशभर छ’, उनले भने, ‘उक्त समस्यालाई समाधान गर्न प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानूनी व्यवस्था गर्दैछौँ ।’

ncell

ऊर्जामन्त्री खड्काले जलविद्युत् केन्द्र र प्रसारणलाइन निर्माणका क्रममा देखिएका वन र जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न सरकारले नीतिगत तहबाट काम गरिरहेको उल्लेख गरे । दार्चुला, बझाङ, बाजुरा, अछामलगायत सुदूरपश्चिममा उत्पादित विद्युत्को आन्तरिक खपतसँगै बाँकी भारतमा निर्यात गर्नेगरी सरकारले क्षमता विस्तार गर्न लागेको उनले स्पष्ट पारे । 

ऊर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न बाधा पर्ने ऐन, कानून, नीतिनियमलाई परिमार्जन गरेर अगाडि बढ्न खोजिएको उल्लेख गरे । उनले एक वर्षभित्र सुदूरपश्चिमका ग्रामीण भूभागमा विद्युतीकरण गर्नेगरी सरकारले काम गरिरहेको जानकारी दिए । 

दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई छिमेकी मुलुक भारतमा निर्यात गर्नका लागि यथाशीघ्र प्रसारणलाइन निर्माण गरिदिन आग्रह गरेका थिए । उनले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति भइसकेकाले चमेलिया नदी जलाधार, सेती नदी जलाधार क्षेत्रमा निर्माण सम्पन्न गर्न पहल गरिदनुपर्ने आग्रह गरे । 

साथै निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित करिब दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्न सकिने भएकाले सोहीअनुसार संरचना निर्माण गर्न बडूले सरकारसमक्ष माग गरे । भेटमा नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद बडूसहित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं बझाङबाट प्रतिनिधित्व गर्ने सांसद भानुभक्त जोशी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेश चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नरबहादुर विष्टलगायत उपस्थित थिए । 

ताजा खबर

सम्बन्धित खबर