काठमाडौं : टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । साइटेसनमा देशभरका करिब तीन सय सदस्यहरू उपस्थित रहेका थिए । काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएका थिए ।
‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्ट मास्टर्स इन्टरनेशनलको शत वार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा सय वटा टोस्ट मास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
टोस्ट मास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधानले भने ‘यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदायबीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौं । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म सय वटा टोस्टमास्टर्स क्लब पुर्याउने लक्ष्य राखेका छौँ ।’
त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति,अन्य थुप्रै सदस्यहरूको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामुहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए ।