२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

ADV
मध्यान्ह
२०८१ असोज ३ गते २१:०१
विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौं : विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले यही असोज ११ गते (सेप्टेम्बर २७ तारिखका दिन) महोत्सव आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोष्टको सहकार्यमा आयोजना हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरुलाई एकसाथ ल्याउन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

विगतमा कर्मचारी सञ्चय कोष अगाडि मात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा केन्द्रित रहनेछ । जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुरकला, पर्यटन मार्गमा चंगाहरुले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा सांगीतिक दबूः, टयाटु उत्सवलगायत कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।

ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक ढंगले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताए । उनले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरे । 

रेष्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) का अध्यक्ष संघर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ ।

महोत्सवका लागि करिब १८ लाख खर्च लाग्ने तथा १० हजार बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पर्यटकीय याम शुरु भएका सन्दर्भमा महोत्सवलगायत गतिविधिले मुलुकको पर्यटन बढोत्तरीमा टेवा पुग्ने जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise