२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नवप्रवर्तन र आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

Nada
२०८१ असोज ४ गते २१:२६
Shares
नवप्रवर्तन र आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

काठमाडौं : एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । 

ncell

मन्त्री पौडेलले अर्थतन्त्रको विकास र विस्तारको लागि कर्जा प्रवाह हुन आवश्यक रहेकोे बताए । उनले निक्षेप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्जालाई सहज भएको बताएका छन् । ‘नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रवद्र्धनको लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने । उनले सर्वसाधारणको निक्षेपको सुरक्षणको लागि कोषले प्रभावकारी भूमिका खेलेको समेत उल्लेख गरे ।

उनले अन्वेषणमार्फत् नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै खुशी व्यक्त गरे । मन्त्री पौडेलले अन्तरनिकाय सूचना आदानप्रदान गर्न एवम् साना व्यवसायीलाई वित्तीय पहुँच पुर्‍याउन कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । 

‘बचतकर्ताको मनोबल बढाउन सुरक्षण बिना सम्भव हुँदैन’, उनले भने, ‘कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्रलाई सहज बनाउन भूमिका खेलेको छ ।’

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवस्यक भएको’ औंल्याएका छन् । 

उनले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताए । साथै, पछिल्लो समय कोषको क्षमता बढ्दै गएको उनले बताए । उनले एसियाली मुलुकका साना नवप्रवर्तनकारी संस्थाहरुका लागि इननोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व निकै उच्च रहेको बताए । 

पछिल्ला अन्तर्राष्ट्रिय वित्तीय संकटहरुका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुरर्‍याएको थियो । 

गभर्नर अधिकारीले नेपालमा केन्द्रिय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको र यसले सामाजिक न्याय तथा वित्तीय पहूँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गरे। उक्त कार्यक्रमको प्रभावकारीतामा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकाको उनले प्रशंसा गरे । ‘पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ’ उनले भने, ‘आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।’

निक्षेप तथा कर्जा सुरक्षणकोषका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेप र २ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी दिए । उनले सम्मेलनले नवप्रवर्तनमा जोड दिएको बताए । ‘आफ्नो नयाँ सोचलाई पनि धितोमा राखेर कर्जा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश यो सम्मेलनमार्फत दिनेछौं’, उनले भने । 

कोषको निक्षेप सुरक्षण विभाग प्रमुख बिक्रान्त आचार्यले सम्मेलनमा आर्थिक वृद्धिलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेका छलफल गर्ने बताए । उनले सम्मेलनमा २० वटा एसियाली मुलुक तथा संस्थाबाट करीब १४० जना सहभागी छन् । सम्मेलनको औपचारिक शत्रहरु शनिबारबाट शुरु हुने छ । चार दिनसम्म चल्ने उक्त सम्मेलन आगामी सोमबार सकिने छ ।

ताजा खबर

सम्बन्धित खबर