२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

चाडपर्वले बढायो आयात, घट्यो निर्यात

ADV
छबि सापकोटा
२०८१ असोज ७ गते २०:२०
चाडपर्वले बढायो आयात, घट्यो निर्यात

काठमाडौं : नेपालीहरुको महत्वपूर्ण चाडपर्व भित्रिँदै गर्दा वैदिशिक व्यापारको तथ्यांकमा आयात बढेको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको भन्दा चालु आर्थिक वर्षको साउन र भदौमा ३ अर्बको बढी वस्तु तथा सेवा आएको हो ।

साउन र भदौमा विभिन्न देशबाट आयात भएको वस्तु गत वर्षको सोही अवधिको तुलतामा १.०८ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा भने कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात गरिएको थियो ।

आयात बढ्दा चाडपर्व दशैं तिहारमा बजारमा चहलपहल बढ्ने देखिन्छ । बिगतमा आर्थिक मन्दीले गर्दा आयात बढ्न सकेको थिएन । आयात बढ्नुले अर्थतन्त्रलाई चलायनमान गराउन सहयोग पुग्ने अर्थशास्त्री रघुविर बिष्टले बताए । उनले भने ‘मन्दीमा रहेको अर्थतन्त्रको लागि आयात बढ्नुले अर्थतन्त्र तग्रिन खोजेको संकेत गरेको छ । विगतमा पनि चाडपर्वको सिजनमा आयात बढ्ने गरेको थियो । तर यो पटक इलेक्ट्रिक गाडीको अयात बढ्दा आयात बढेको देखिन्छ । आयात बढ्नु अर्थतन्त्रमा सुधार आउने संकेत समेत हो ।’

यसरी नेपालको आयात बढ्दा निर्यात भने बढ्न सकेको छैन । नेपाल आयातमा निर्भर हुँदा निर्यात हुने वस्तु तथा सेवाको उत्पादन समेत कम हुँदा निर्यात निरन्तर घटिरहेको छ । पछिल्लो दुई महिनाको तथ्यांकलाई हेर्ने हो भने आयात बढ्दा निर्यात ५ प्रतिशत भन्दा बढीले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालबाट हुने निर्यात भने ५.१२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालबाट कुल २५ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट कुल २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । निर्यात कम हुनु र आयात बढ्दै जादाँ नेपालको व्यापार घाटा समेत बढिरहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको तुलनामा १.७८ प्रतिशतले बढी हो ।

ADVADV

सम्बन्धित खबर

Advertise