काठमाडौं : मलेसियासँगको संयुक्त कार्यदलको बैठकमा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. राम प्रसाद घिमिरेको नेतृत्वमा नेपाली टोली मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेको छ । टोलीले मंगलबार मलेसियामा हुने वार्तामा नेपालबाट कामदार रोजगारीका लागि मलेसिया जान पूरा गर्नुपर्ने प्राविधिक पक्षमा छलफल गरी टुंगो लगाउने बताइएको छ ।
आइतबार प्रस्थान गरेको नेपाली टोलीले सोमबार गृहकार्य गरी मंगलबार छलफलमा सहभागी हुने बताइएको छ । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच कामदार अदान प्रदान र फिर्ता सम्बन्धमा भएको द्विपक्षीय समझदारीमा संयुक्त कार्यदलको व्यवस्था राखिएको छ । उक्त संयुक्त कार्यदलले सहमति कार्यान्वयनमा उत्पन्न हुने समस्याहरुमा समाधान खोज्ने गर्दछ ।
नेपाली टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका गरी ४ जना सहसचिव तथा श्रम मन्त्रालयका एक उपसचिव सहभागी रहेको श्रम मन्त्रालय श्रोतले जानकारी दियो ।
मंगलबार हुने कार्यदलको बैठक दोश्रो हो । यसअघि द्विपक्षीय समझदारी भएकै दिन गत कात्तिक १२ गते संयुक्त कार्यदलको बैठक बसेपनि विगत १५ महिना यता उक्त बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्नुमा मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको बारेमा रहेको मतभेद बताइएको छ ।
नेपालले मलेसियाले पठाएको मापदण्ड अनुसार छनोट भएका १ सय २२ संस्थाको नाम मलेसिया पठाइसकेपनि मलेसियाले तत्काल नयाँ मेडिकल सूचीकरण नगरी आवश्यकता अनुसार नयाँ मेडिकल थप गर्ने पत्र नेपाललाई पठाएको छ । श्रम मन्त्रालयले आवश्यकता अनुसार नयाँ मेडिकल थप गर्दै जाने मलेसियाको धारणालाई सकारात्मक रुपमा लिएका कारण संयुक्त कार्यदलको बैठक हुन लागेको बताइएको छ ।
मन्त्रालयले श्रम स्वीकृति रोक्नुअघि ३६ वटा स्वास्थ्य संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारको मेडिकल गर्दै आएका थिए । मन्त्रालयले ती संस्थाविरुद्ध कामदार ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेपनि मलेसियाले ती मेडिकलबाट नै कामदारको स्वास्थ्य परीक्षण गर्ने स्पष्ट गरिसकेको छ ।
नेपालबाट पछिल्लो समय वार्षिक १ लाखको हाराहारीमा नेपाली कामदार मलेसिया जाने गरेका छन् । त्यसमा पनि मलेसियाले सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने नीति लिएको छ । तर मेडिकल संस्थाको विषय नसुल्झिदा नेपालबाट कामदार गएनन् । द्विपक्षीय समझदारीको एक वर्ष पुग्न लाग्दा समेत सम्झौताको एउटा पक्ष रहेको नेपालले कार्यान्वयन गर्न नचाहेको भन्दै मलेसियामा निराशा देखिएको बेला संयुक्त कार्यदलको बैठक बस्नुलाई पनि उपलब्धिका रुपमा हेरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies