२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मिर्गौलापीडित पत्रकार दियालीलाई डेढ लाख बढी आर्थिक सहयोग

Nada
२०८१ असोज ८ गते १५:३६
Shares
मिर्गौलापीडित पत्रकार दियालीलाई डेढ लाख बढी आर्थिक सहयोग

काठमाडौंः मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई डेढ लाख बढी आर्थिक सहयोग गरिएको छ । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले पुरस्कारबाट प्राप्त रकम रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार दियालीलाई आज वीर अस्पतालमा हस्तान्तरण गरेका हुन्।

ncell

सम्पादक श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले १ लाख ८२ हजारको चेक एक समारोहबीच दियालीलाई संयुक्त हस्तान्तरण गरेका हुन् । जसमा श्रेष्ठले प्राप्त गरेको पुरस्कारस्वरुप एक लाख र रोटरी क्लब अफ काठमाडौं बेष्टको ८२ हजार सहयोग समावेश छ । 

उक्त समारोहमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद हस्तान्तरण गरेका थिए । सो अवसरमा सम्पादक श्रेष्ठले जीवनभर देश, जनताका लागि इमान्दरपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो कुरा होइन, त्यसैले एकजना पत्रकारलाई दुःख कष्ट पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनासहित उक्त रकम मिर्गौलापीडित पत्रकारलाई प्रदान गरिएको बताए ।

त्यसैगरी प्रिसिडेन्ट श्रेष्ठले रोटरी भनेकै सेवा गर्न जन्मिएको संस्था भएकाले मिर्गौलापीडित पत्रकार दियालीलाई उपचारमा केही सहयोग होस् भन्ने भावनाले रोटरी क्लब अफ काठमाडौं बेष्ट पनि आजको कार्यक्रममा सहभागी भएको बताए । सो अवसरमा करेन्ट मिडियाका गौतमले लोकतन्त्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट देश र समाजका लागि योगदान पुर्‍याउने पत्रकारहरु बिरामी पर्दा राज्यले हेर्नुपर्ने औंल्याए । त्यसबाहेक पत्रकारसँग सम्बन्धित संघ संस्थाहरुले उपचार कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो । उनको उपचारका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग पुर्‍याउँदै आएका छन् । उनको उपचारमा संलग्न वीर अस्पतालका चिकित्सक, नर्सहरुप्रति पनि रोटरी क्लब अफ काठमाडौं बेष्टले आभार प्रकट गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर