काठमाडौं : समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा साूमिहक छलफल हुनेछ । सम्मेलनका विभिन्न सात सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनकै क्रममा आयोजित ‘पूर्वाधार परिदृश्य’ विषयको सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अझै पनि ठूला पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था नदेखिएको भन्दै ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने बताए । विगतमा निजी क्षेत्रले लगानीको घोषणा गरेको परियोजना अलपत्र परेको उहादरण दिँदै उनले ठूला पूर्वाधारमा हात नहाल्न सुझाव दिए ।
“केही वर्षअघि निजी क्षेत्रले काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण गर्न खोज्यो तर सकेन”, विकसित मुलुकमा सडक, यातायात र सञ्चारजस्ता पूर्वाधारमा राज्यले लगानी गरेको उदाहरण प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “त्यसले निजी क्षेत्रले सडकमा लगानी गर्ने अवस्था नरहेको पुष्टि गरेकाले सरकारले नै लगानी गर्नुपर्छ ।”
जटिल भू–राजनीतिक अवस्थाको सही विश्लेषण गर्न नसक्दा निजी क्षेत्रको लगानीले परिणाम दिन नसकेको उनको भनाइ थियो । निजी क्षेत्रले अन्तरराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकमा भने सरकारसँग मिलेर लगानी गर्न सक्ने उल्लेख गर्दैै पूर्वप्रधानमन्त्री भट्टराईले क्षमताबिना रेल्बेलगायत ठूला पूर्वाधारमा हतारमा लगानी नगर्न सुझाव दिए ।
अहिले नेपालमा निजी क्षेत्रले ऊर्जामा लगानी गर्न सक्छ तर तिनको लगानीका क्षमता कम हुने हुँदा ढुक्क हुनसक्ने अवस्था नभएको चर्चा गर्दै उनले वस्तु र सेवाको उत्पादनमा ध्यान दिएर बढीभन्दा बढी राजस्व वृद्धि गर्नेतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies