२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

बैंकिङ प्रणालीमा तरलता अधिक, पुनः ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

shivam cement
मध्यान्ह
२०८१ असोज ९ गते ११:३६
बैंकिङ प्रणालीमा तरलता अधिक, पुनः ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौंः आइतबार मात्रै ३० अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले बुधबार पुनः ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरी ३० अर्ब निक्षेप तान्न लागेको हो । 

बैंकिङ प्रणालीबाट संकलन गरिने निक्षेपको बोलकबोल आज अपराह्न ३ बजे रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी असोज २३ गते रहेको छ । 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

साथै बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ‘दशमलव पछिको हकमा चार अंकसम्म’ उल्लेख गर्नु पर्ने जनाइएको छ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम जारी छ । साथै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। यसैअनुरुप केन्द्रीय बैंकले समय–समयमा निक्षेप तान्ने गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise