२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुस्तावासीलाई न्यूनतम विद्युत महसुल एक वर्षसम्म छुट

Nada
२०८१ असोज १० गते २०:५६
Shares
सुस्तावासीलाई न्यूनतम विद्युत महसुल एक वर्षसम्म छुट

काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले विद्युत जडान भएका सुस्ता पश्चिमका करिव ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरे । नेपाल विद्युत प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी  एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति सुरुवात गरिएको थियो । 

ncell

उर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत सेवा उपयोगबाट वञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार कार्य सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने  बताए । सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत सेवा उपलब्ध थियो । ३५० भन्दा बढी घरपरिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए । 

सुस्तामा गण्डक सबस्टेशनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ । मन्त्री खड्काले उक्त कार्यसँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा पनि व्यापक सुधार ल्याउने बताए । उनले भने ‘हामीले एकसय किलोवाट क्षमताको सौर्य मिनीग्रिड प्रणालीलाई पनि राष्ट्रिय ग्रिडमा सफलतापूर्वक जोडेका छौँ, सुस्ता गाउँपालिका–५ मा निर्माण भएको यो परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ‘तराई मधेश समृद्धि कार्यक्रम’ र सुस्ता गाउँपालिकाको सहयोगमा विस २०७७ साल मंसिरदेखि सञ्चालनमा ल्याएका थियौं ।

उक्त परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडीदिँदा यसको दीर्घकालीन दिगोपन सुनिश्चित भएको मन्त्री खड्काको भनाइ छ । उनले देशभर रहेका साना सौर्य ऊर्जा प्रणाली तथा लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सरकार योजनाबद्ध ढंगले लागेको बताए । राष्ट्रिय ग्रिडले नेपालको हरेक कुनासम्म सेवा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री खडकाले बताए । उर्जामन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत पुर्‍याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटोतिर लैजानु पनि भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर