क्वालालम्पुर, मलेसिया : लेनदेनको विषयमा विवाद भएर झगडा हुँदा मलेसियामा एक नेपाली कामदारको ज्यान गएको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलाङ्गर राज्यको पुचुङस्थित एक सुपरमार्केटमा काम गर्दै आएका दुई नेपालीबीच झगडा हुँदा सिरहाका रुपेशकुमार यादवको मृत्यु भएको हो ।
एउटै सुपरमार्केटमा काम गर्दै आएका दाङका मिलन गुरुङ र यादवबीच केही समयदेखि लेनदेनका विषयमा साधारण विवाद चलिरहेको र सोही क्रममा गत सेप्टेम्बर २ तारिक साँझ दुबै जना मदिरा सेवन गरी झगडामा उत्रिएका थिए ।
झगडा चलिरहँदा यादवलाई गुरुङले छुरा प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गुरुङविरुद्ध स्थानीय प्रहरीले मलेसियन पेनल कोडको दफा ३०२ अन्तर्गत ज्यान मारेको अभियोगमा थप अनुसन्धान गरिरहेको छ । मलेसियन पेनल कोडको दफा ३०२ अन्तर्गत ज्यान मारेको अभियोग पुष्टि भएमा आजीवन कारबास वा मृत्युदण्डको सजाय हुने व्यवस्था छ । मृतकलाई अभियुक्तले जघन्य, सांघातिक, क्रुर तरिका अपनाइ ज्यान लिए–नलिएको आधारमा सजाय तय हुने बताइएको छ । प्रहरीले गुरुङसँगै अन्य ६ जना नेपाली कामदारलाई थुनामा राखेर अनुसन्धान गरिरहेको बताइएको छ ।
मृतक यादवको शव पोस्टमार्टमपश्चात कानूनी प्रक्रिया पूरा गरी रोजगारदाता कम्पनी र नेपाली दूतावास क्वालालम्पुरको समन्वयमा दाहसंस्कारका लागि बुधबार नेपाल पठाएको दूतावासका प्रथम सचिव एवम् प्रशासन सूचना प्रमुख बलिराम प्रसाद धामीले जानकारी दिए । हेल्प मधेशी मलेसियाका उपाध्यक्ष सुरेन्द्र महतोले घटनाको छानबिन र शव नेपाल पठाउने विषयमा नेपाली दूतावासले सराहनीय भूमिका खेलेको बताए ।