-सुभाषचन्द्र देवकोटा
नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य अघि बढाएको छ । नेपालमा पहिलोपटक बन्न लागेको दक्षिण एसियाकै हवाई हबको सम्भावना बोकेकोे अन्तर्राष्ट्रिय विमानस्थल चर्चाको विषय बन्नु अस्वाभाविक नभए पनि पूर्वाग्रही र नकारात्मक बहसहरूले भने जनमानसमा प्रशस्तै भ्रम सिर्जना गरेको देखिन्छ ।
विकास भनेको स्रोतहरूको बुद्धिमत्तापूर्ण प्रयोगको अभ्यास हो । तसर्थ, प्राकृतिक स्रोतहरूको बुद्धिमत्तापूर्ण प्रयोग कसरी गर्न सकिन्छ त्योबारेमा प्राज्ञिक बहस, विचार विमर्शहरूको महत्व सधैँ हुन्छ । यस्ता बहस र विमर्शहरूले विकासका विधि तथा प्रक्रियाहरूलाई झन् परिष्कृत बनाउने अपेक्षा गरिएको हुन्छ । तर, हामीकहाँ हुने यस्ता प्राज्ञिक विचार, विमर्शहरू विकास विज्ञानभन्दा पनि वातावरण अभियानमा केन्द्रित देखिन्छ ।
विकासलाई सजिलो र सापेक्ष बनाउन सहजीकरण गर्नुको बदला राजनीतिक इबी साँध्ने मनसाय देखिन्छ । निषेधको प्राज्ञिक बहसहरूबाट निजगढ विमानस्थल निर्माणलाई जोगाउनु नितान्त आवश्यक भइसकेको छ । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा बहस प्रारम्भ भएको करिब २५ वर्ष कटिसकेको छ । यसै क्रममा देशका आठ विभिन्न स्थानहरूमा गरेको सम्भाव्यता अध्ययन र अन्तर्राष्ट्रिय मापदण्डहरूका आधारमा विमानस्थल निर्माणको निमित्त निजगढलाई सबैभन्दा उपयुक्त स्थान भनेर तत्कालीन सरकारले विक्रम संवत् २०५४ मा किटान गरेको थियो ।
नेपाल सरकारले कोरियन कम्पनी ल्यान्ड मार्क वल्र्डवाल्डले बनाएको विमानस्थल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनलाई २०६८ मा र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७५ मै स्वीकृत गरिसकेको छ ।
निजगढ विमानस्थल बनाउने कुरा वर्तमान सरकारले तत्कालै जस्केलाबाट ल्याएको विषय नभई, अघिल्ला सरकारहरूले सुरु गरेको कामको निरन्तरतामात्र हो । सबैखाले अध्ययन र पूर्वकार्यहरू सम्पन्न गरी निर्माणको चरणमा आइपुगेको अवस्थामा विमानस्थल निर्माणलाई विवादमा ल्याउनु गैरजिम्मेवारीपनबाहेक अरू केही होइन ।
आठ हजार हेक्टर क्षेत्रमा निर्माण हुने प्रस्तावित विमानस्थल बाराको कोहल्वी नगरपालिका ८ र जितपुर सिमरा उपमहानगरपालिका–१ सम्म फैलिनेछ । ३६ सय मिटर लामो र ४५ सय मिटर फराकिलो धावनमार्गसहितको विमानस्थल विसं २०३० सम्ममा विभिन्न चरणहरूमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।
पहिलो चरणको कार्य सम्पन्न भएपश्चात् नै वार्षिक ९२ लाख हवाई यात्रुलाई सुविधा दिन सक्ने यो विमानस्थलले पूर्णता पाइसकेपछि वार्षिक ६ करोड यात्रुको चाप थेग्न सक्छ । हरेक मौसममा २४सै घन्टा खुला हुने यो विमानस्थलले भारतीय राज्य विहारको ट्राफिक तान्न सक्छ । साथै, चीनका २० वटा सहरबाट चार घन्टाको हवाई यात्रामा जोडिने निजगढ विमानस्थललाई सिङ्गापुर, हङकङ, मलेसिया, ग्वाङ्जाओजस्तै दक्षिण एसियाकै हवाई हबका रूपमा विकास गर्न सकिन्छ । त्यसो भएमा दक्षिण एसियाको हब नेपाल बन्नेछ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएअनुसार सात हजार ५८२ हेक्टर वन विमानस्थल निर्माणका लागि प्रयोग गरिनेछ । जुन नेपालको कुल राष्ट्रिय वन क्षेत्र (४४.७४ प्रतिशत) को आधारमा हेर्दा ०.११ प्रतिशतमात्र हुन आउँछ । यो ज्यादै न्यून परिमाण हो ।
संसारका सबै देशहरूका लागि विकासका पूर्वाधार निर्माणका आधार भनेका प्राकृतिक सम्पदाहरू जल, जमिन, वन र खनिज सम्पदा नै हुन् । भारत र चीनको विकास होस् वा अमेरिका र युरोपको विकास सबै प्राकृतिक सम्पदामाथि नै उभिएको विकास हो । फरक यत्ति हो, धनी देशहरूले पैसा खर्च गरेर गरिब देशहरूको स्रोतहरूको दोहन गर्छन् । तर, हामीले हाम्रै देशमा उपलब्ध स्रोतहरू जस्तै : जल, जमिन, जङ्गललगायत प्राकृतिक स्रोतहरूको बुद्धिमत्तापूर्ण प्रयोग गरेर नै आर्थिक विकास र समृद्धि प्राप्तिमा देशले राखेको महत्वाकाँक्षा पूरा गर्नुपर्छ ।
निश्चय नै सरकारले विमानस्थल निर्माण गर्दा वातावरणीय तथा सामाजिक सुरक्षा र संरक्षणका मापदण्डहरू पूरा गर्नुपर्छ । यसबारे सरकारलाई सचेत गराउने, खबरदारी गर्ने दायित्व हामी सबैको हो । सम्बन्धित मन्त्रालयले वातावरणीय र सामाजिक प्रतिबद्धताको निरन्तर अनुगमन गर्ने स्वतन्त्र विज्ञहरूको टिमको व्यवस्था गर्नु उपयुक्त देखिन्छ ।
सरकारले निजगढ विमानस्थल निर्माणको विषयमा पर्याप्त बहस तथा छलफलहरू चलाएको देखिँदैन । विमानस्थलले स्थानीय जनतालाई के दिन्छ ? यसले देशको आर्थिक विकास र समृद्धिमा कस्तो योगदान पुर्याउन सक्छ ? विमानस्थलसँगै राजधानी काठमाडौँलाई जोड्ने फास्ट ट्रयाक, पूर्व–पश्चिम रेल, चौडा राजमार्ग, नदीहरूको पानी डाइभर्सन गरेर तराईमा विस्तार गरिने सिँचाइ, कृषिको आधुनिकीकरण, जल यातायात, सडकको जालो, पर्यटन विकासमा दिइएको तीव्रताजस्ता विषयहरूमा एकीकृत रूपमा जनतालाई समयमै सुसूचित पार्नु पनि पर्छ ।
निजगढ विमानस्थल, द्रुत मार्ग, पूर्व–पश्चिम रेल्वे, हुलाकी राजमार्ग बनेपछि अन्तर्राष्ट्रिय कनेक्टिभिटी र पर्यटकहरूको वृद्धि कसरी हुन्छ ? त्यसले हाम्रो सामाजिक आर्थिक क्षेत्रमा पार्ने प्रभावहरूबारे तथ्यगत कुराहरू सार्वजनिक गर्नुपर्छ । विमानस्थल निर्माणबाट वातावरणीय, सामाजिक धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुग्न सक्ने क्षतिहरूको व्यवस्थापनबारे कार्ययोजना तथा आवधिक अनुगमनका योजनाहरू सार्वजनिक गरेर किचलो निकाल्नेहरूको मुख बन्द गर्न सकिन्छ ।
विकासलाई विनाशका रूपमा नभएर सिर्जनात्मक दृष्टिले हेर्नुपर्छ । त्यसैले विनाशको कुरा गरेर विकासको बाटो रोक्नुहुन्न । विकासको नाममा मनलाग्दी गर्दा त्यसबारे आवाज उठाउने अधिकार त हामीसँग सधैँ सुरक्षित छँदै छ । वातावरणी चुनौतीहरूलाई सम्बोधन गर्न सबै पक्षको समन्वय र सहभागिता जुटाउन भने अत्यन्त जरुरी हुन्छ । यसबारेमा सम्बन्धित मन्त्रालय गम्भीर हुनैपर्छ ।
सबैले बुझ्नुपर्ने कुरा भनेको हाम्रो विकास र वातावरणीय सन्तुलनका विषयमा नेपालीको मौलिक धारणा र राष्ट्रिय स्वार्थ प्रतिविम्बित हुनुपर्छ भन्ने नै हो । यसो भएमात्र देशले आर्थिक विकास र समृद्धिको दिशामा फड्को मार्न सक्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies