२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते १४:४०
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु

काठमाडौं : नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु भएको छ ।

आज एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गरे । उनले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गरे । 

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिए । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उनले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघि नै समाधान गरिने प्रष्ट पारे ।

पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रले व्यहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरु हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने बताए । विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नैपर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले शुरु गरिसकेको जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्धतर्फ लैजाने आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिंगापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बंगलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन् । मेलामा रु एक करोडभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ ।

समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताए । नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उनले जानकारी दिए।

मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise