२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

सडक पूर्वाधारमा ठूलो क्षति, अधिकांश सडक सञ्चालनमा

ADV
मध्यान्ह
२०८१ असोज १४ गते २१:३७
सडक पूर्वाधारमा ठूलो क्षति, अधिकांश सडक सञ्चालनमा

काठमाडौं : पछिल्लो तीन दिने अविरल वर्षाका कारण देशभरीका सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । भारी वर्षा भएका क्षेत्रका लामो तथा छोटो दूरीका अधिकांश सडकहरुमा क्षति पुगेको हो । 

सडक विभागकाअनुसार वर्षाका कारण देशभरी २१ हजार ५ सय मिटर सडक क्षतिग्रस्त हुँदा अरबौं रुपैयाँ बराबरको क्षति भएको छ । अधिकांश सडकमा क्षति पुगेपनि सोमबार साँझसम्म अधिकांश सडक भने पहिरो हटाएर सुचारु भएका छन् ।

देशका विभिन्न सडकका पाँचवटा पक्की पुल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १४ राजमार्गका दर्जनौं स्थानमा सडक अवरुद्ध भएको छ । पृथ्वी, अरनिको, बीपी, कान्ति, पुष्पलाल मध्यपहाडी, मेची, मदन भण्डारी, कालीगण्डकी करिडोरमा ठूलो क्षति भएको छ । सुनकोसी खुर्कोटबाट रामेछाप जाने पक्कीपुल नै बगाएको छ । खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सेवा भने सुचारु भने भएको छ ।

त्यस्तै, सिन्धुरेटार, फोक्सिङ्टारका पक्की पुलमा क्षति भएको छ । अरनिको राजमार्ग तातोपानी नाका नजिकको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुललाई बाढीले बगाएको छ । तर, अरनिको राजमार्ग पूर्णरुपमा चल्ने विषय अनिश्चित छ । सडक विभागकाअनुसार पृथ्वी राजमार्गको अधिकांश स्थानको सडकमा क्षति पुगेको छ । त्रिभुवन राजपथका र गल्छी–त्रिशुली–बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी–रसुवागढीका विभिन्न खण्डमा पनि पहिरोले क्षति पु¥याएको छ । बीपी राजमार्गको झण्डै एक किलोमिटर सडक खण्डमा पहिरो गएकाले लामो समयसम्म सुचारु हुने अवस्था छैन ।

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौं र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालनमा आएका छन् । त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक सोमबार बिहानबाट खुलेका छन् । 

यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौं जाने सडक आइतबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका–८ स्थित वागमती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रुपमा अवरुद्ध छ ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रुपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise