काठमाडौं : ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ शुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्णमा घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त आयोजनामा मेला लागेको हो । काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको बजारीकरण पनि महत्वपूर्ण पाटो भएको बताए ।
स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरुले तयार गरेका उत्पादनहरुको बजारीकरणमा चुनौती देखिएको भन्दै उनले उद्यमशीलतामा लाग्नेहरुलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरुको ध्यानाकर्षण गराए । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहेको उनले बताए ।
प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।