२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

तत्कालै विदेशी कामदार खुलाउन मलेसियामा दबाब

draupadi film
तिलोचन गौतम
२०८१ असोज २१ गते ०६:३०
तत्कालै विदेशी कामदार खुलाउन मलेसियामा दबाब

क्वालालाम्पुर, मलेसिया : आन्तरिक तथा बढ्दो बाह्य लगानीका कारण स्थापित नयाँ उद्योगलाई विदेशी कामदारको दबाब बढेको भन्दै मलेसियाली रोजगारदाताहरूले रोकिएको नयाँ एप्रुभल खुला गर्न सरकारसँग माग गरेका छन् । मलेसियाले अवैधानिक विदेशी कामदार वैधानिक वा स्वदेश फिर्ता गरेर आगामी नयाँ वर्ष अर्थात आगामी जनवरीबाट नयाँ विदेशी कामदारको एप्रुभल खुलाउने कतिपयको विश्लेषण छ ।

तर रोजगारदाताहरूले नयाँ कामदारको एप्रुभल तत्कालै खुला नगरेको अवस्थामा त्यसले मलेसियाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताएका छन् । मलेसिया सरकारले कूल श्रम जनशक्तिको १५ प्रतिशत मात्रै विदेशी कामदार राख्ने नीति लिएको छ ।

हाल मलेसियाको खाद्य तथा पेय पदार्थको क्षेत्रमा विदेशी कामदार पर्याप्त भएपनि वृक्षारोपण, उत्पादन तथा अन्य क्षेत्रमा तत्कालै थप जनशक्तिको खाँचो रहेको निजी क्षेत्रले बताएको छ । मलेसियाको रोजगारी बन्द हुँदा नेपालबाट जाने क्रममा पनि ठूलो गिरावट आएको छ ।

एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियाका अध्यक्ष तान श्रीलो कियान चुआनले राष्ट्रिय अर्थतन्त्रको सुधारको अवस्थामा थप विदेशी कामदार तत्काल भर्ना गर्न आवश्यक रहेको बताए । उनले भने, ‘विदेशी लगानीको बढ्दो प्रवाह र स्वदेशी अर्थतन्त्रको उच्च गतिमा सुधारसँगै विदेशी कामदारको माग बढ्ने अपेक्षा गरिएको छ । सरकारले प्लान्टेशनलगायतका विशेष क्षेत्रमा विदेशी कामदारका लागि तत्कालै नयाँ आवेदन अनुमति दिनुपर्छ ।’

उनले मलेसियामा कूल श्रमशक्तिको १५ प्रतिशतमा विदेशी कामदारको संख्या सीमित गरिएको राष्ट्रिय नीति सुनिश्चित गर्दै विदेशी कामदारहरूको अनुपातलाई नजिकबाट अनुगमन गर्न र थप गर्न आवश्यक रहेकोे बताए । एसएमई एशोसिएसन अफ मलेसियाका अध्यक्ष चिन ची सियोङले सरकारले विदेशी कामदार भर्नामा प्रतिबन्ध लगाउनुको साटो निश्चित उद्योगको आवश्यकतालाई ध्यानमा राख्नुपर्ने धारणा राखे । उनले उत्पादनदेखि प्लान्टेशनका लागि विदेशी कामदारलाई आवश्यकता पर्दा उद्योगहरूबीच आदानप्रदान गरी सन्तुलन मिलाउने अनुमतिका लागिपनि सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने बताए । उनले वृक्षारोपण क्षेत्रमा अझै पनि विदेशी कामदारको ठूलो अभाव रहेकोे बताए ।

मलेसियाली व्यापार महासंघका अध्यक्ष दातुक सेरी अब्दुल मलिक अब्दुल्लाले पनि विदेशी कामदारको कोटा स्वीकृत गरी १८ महिनासम्म भित्र्याउन दिने सरकारी नियम राम्रो भएपनि एक्कासी विदेशी कामदार भर्ना गर्न बन्द गर्ने घोषणाले उद्योगमा असर परेको टिप्पणी गरे ।

विदेशी कामदारहरू घटाउने सरकारको नीति रोजगारदाताहरूले बुझेको, तर स्थानीय कामदारहरूले फोर डी भनिने कठिन, फोहोर, खतरनाक, अपमानजनक क्षेत्रमा काम गर्न नमान्ने भन्दै रोजगार करार अवधि पूरा गरेर स्वदेश फर्कने विदेशी कामदारको प्रस्थान अनुमति ‘एक्जिट मेमो’ दिनासाथ त्यसको ठाउँमा नयाँ कामदार भर्नाको अनुमति पनि सँगसँगै दिनुपर्ने माग गरे । उनले भने, ‘सबै कामदारहरूलाई लामो समयसम्म काममा लगाउन सकिँदैन, उनीहरूले पनि लामो समय काम गर्नपनि सक्दैनन् भन्ने सरकारले बुझ्नुपर्छ ।’

ADV

सम्बन्धित खबर

Advertise