२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

‘जटिल डेंगु’को पूर्वसंकेत र रोकथामका उपाय

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते ०९:३०
‘जटिल डेंगु’को पूर्वसंकेत र रोकथामका उपाय

डा.शेरबहादुर पुन

डेंगु सुरुवा रोग हैन तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश संक्रमितहरू लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरूका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर, जटिलता निम्त्याउन सक्ने संकेतहरूका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ ।

सन् २०२२ मा अधिकांश डेंगुबाट मृत्यु भएकाहरू भर्ना हुँदा नै जटिल डेंगु लिएर आएका तथ्यांक देखिन्छ तर, हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरूमा डेंगुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेंगु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेंगु’ का पूवसंकेतहरूका बारेमा थाहा पाउनु पनि आवश्यक छ ।

अधिकांश डेंगु संक्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिबिराहरू देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेंगुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको संक्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेंगु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ ।

संक्रमणका पूवसंकेत

तारन्तार बान्ता हुनु,

असाध्य पेट दुख्नु,

नाक वा गिजाबाट रगत बग्नु, 

बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।

माथि उल्लिखित लक्षण वा संकेतहरू घरमा संक्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता संकेतहरू देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप संकेतहरू देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए/नभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ ।

डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तीव्र रूपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

सन् २०२२ सालमा काठमाडौंमा देखिएको डेंगु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरूभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौंका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो । अनि नेपालको इतिहासमा नै ‘घातक डेंगु’ वर्षका रूपमा मैले सन् २०२२ लाई लिएको थिएँ ।

यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरू जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको संक्रमण भएका व्यक्तिहरू बढी डेंगुको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेंगु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरूले डेंगु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरूको नतिजाले देखाएको छ । 

दसैँ अगाडि डेंगुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेंगु पुष्टि भएका बिरामीहरूको संख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेंगु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौं मात्र नभई देशका विभिन्न ठाउँहरूमा डेंगुले व्यापक प्रभाव पारेको जानकारीहरू आउने क्रम जारी छ । डेंगुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ । 

चाखलाग्दो कुरा के छ भने अधिकांश डेंगु संक्रमितहरू लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेंगु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेंगु’ भन्नाले डेंगु संक्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो । चाडपर्वमा मान्छेहरू यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरू सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरू अस्पताल पुग्दैनन् ।

अधिकांशलाई डेंगुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेंगु’का पूवसंकेतहरू संक्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेंगु संक्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेंगु’का पूवसंकेतलाई ध्यान दिनसक्ने हो भने डेंगुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय संख्यामा कम गर्न सकिन्छ ।

हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा डेंगु के हो, कसरी सर्छ र यसका लक्षणहरूका बारेमा जानकारीहरू दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरू ‘जटिल डेंगु’का पूवसंकेतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेंगुबाट हुने मृत्युदरलाई उल्लेखनीय रूपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।

(लेखक, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)
 

ADVADV

सम्बन्धित खबर

Advertise