२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

व्यवसायीको दानले एमालेमाथि नैतिक प्रश्न

ADV
भावना पाठक
२०८१ कार्तिक १ गते ०९:३८
 व्यवसायीको दानले एमालेमाथि नैतिक प्रश्न

काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको नेतृत्वमाथि नैतिक प्रश्न उठेको छ । पार्टी मुख्यालका लागि जग्गा र भवन व्यवसायीबाट दानमा लिने भएसँगै एमाले नेताहरूले अनेकन प्रश्नको सामना गर्नुपरेको छ ।

सत्ता साझेदार दलहरूले समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेका छन् ।  एमालेको पार्टी कार्यालयका लागि व्यवसायी मिनबहादुर गुरुङले किर्तिपुरको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान गरेका गरेका छन् । जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारीसमेत लिएका छन् । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेकै कतिपय नेता÷कार्यकताहरूले नेतृत्वको विरोध गरेका छन् ।

प्रमुख सत्ताघटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरूले आफैँले बनाउनुपर्ने बताएका छन् । 

एक अर्ब रुपैयाँभन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै महामन्त्री शर्माले यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताएका हुन् । व्यवसायीहरूले राजनीतिक दलहरूलाई सानो सहयोग गर्ने विषय राम्रो भएपनि एक अर्बभन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उनको भनाइ छ । 

‘यति ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा यसको जवाफ दिनुपर्ने दायित्व एमाले पार्टीकै हो’ उनले भनेका छन्, ‘एमालेको केन्द्रीय कार्यालय व्यवसायीले निर्माण गरेर जग्गा र भवन दान दिने कुरामाथि गम्भीर प्रश्न उठेको छ । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट नपारी सुखै छैन ।’ 

उनले अगाडि भनेका छन्, ‘मैले सोध्नुपर्ने विषय यति मात्रै छ – कि स्वयं सम्माननीय प्रधानमन्त्री उपस्थति भएर उहाँको दलले जग्गा, भवन पनि लिने तयारी गरेर जे प्रश्न उब्जिएको छ त्यसले उहाँको दललाई मात्रै होइन, राजनीतप्रिति प्रश्न उब्जिएको छ । कस्तो राजनीति हामी बनाउन चाहन्छौँ ? कस्तो राजनीतिक दलहरू बनाउन चाहन्छौँ भन्ने प्रश्न उब्जिएको छ ।’ 

एमालेले भने सार्वजनिक रुपमा उठेका प्रश्नहरूको खण्डन गर्दै आएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार विज्ञप्ति निकालेर पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएका छन् । 

जारी गरी पार्टी भवनका लागि प्राप्त भएको जग्गामा कुनै सौदाबाजी र लेनादेना नभएको भन्दै यसबारे आएका टीकाटिप्पणी खेदजनक भएको गौतमले बताएका छन् ।

‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्’ विज्ञप्तिमा भनिएको छ, ‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।’ 

‘अन्तर्मनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं’, गौतमले अगाडि लेखेका छन्, ‘यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको व्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुनेछन् ।’ 

गौतमले गुरुङका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उनी आफैंले सामना गर्ने बताएका छन् । उनले लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको तर्क गर्दै जग्गा दानबारे आएका टीकाटिप्पणी सार्वजनिक खपतका लागि भएको बताएका हुन् । 

एमालेले जग्गा दाता व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा नै अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको पनि बताएको छ । 

‘नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रही कार्य गरेको तथ्य जगजाहेर छ’, विज्ञप्तिमा उल्लेख छ ।

एमालेले विगतमा अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेको सन्दर्भमा गुरुङ दम्पतीले दान दिएको जनाएको छ । एमालेको गत वैशाखमा ललितपुरको गोदावरीमा बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टी भवन निर्माणका लागि पार्टीको पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि आह्वान गरेको थियो । सहयोग संकलनका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन गरेको थियो । 

सोहीअनुसार पार्टीका समर्थक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग लिएको एमालेले बताएको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise