काठमाडौं : नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि हिँडेको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार अनकन्टार पहाडमा दुर्घटना भएको हो । घाइतेको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।
यस्तै, कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा शनिबार एक मालवाहक ट्रक दुर्घटनामा परेको छ ।
जुम्लाबाट सुर्खेतका लागि हिँडेको लु १ क ३९३० नम्बरको ट्रक कालिकोटको तिलागुफा नगरपालिका–५ खल्लागाड स्थित पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालकको मृत्यु भएको छ ।
कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ट्रक सडकबाट अन्दाजी करिब ५० मिटर तल खोलामा खसेको थियो । भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनबारे थप अनुसन्धान जारी रहेको छ ।
झापामा पनि दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित कमल गाउँपालिका–५ रवि पेट्रोल पम्पनजिकै शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
दमकबाट बिर्तामोडका लागि छुटेको प्रदेश न. १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुङ राईको मृत्यु भएको छ ।
ठक्करबाट घाइते मुकारुङलाई बसले पुनः किचेर मारेको बताइन्छ । यो दृश्य प्रत्यक्ष देखेको बताउने स्थानीयबासीले आक्रोशित हुँदै बसलाई ढुंगामुढासँगै आगजनीसमेत गरेका थिए ।
प्रहरीले बस चालक गौरादह नगरपालिका–१ बस्ने ३५ वर्षीय संजय नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ।
शनिबार नै दोलखामा यात्रुबाहक वस र जिप ठोक्किएर दुर्घटनामा परेको छ ।
शनिबार बिहान पौने ११ बजे दोलखा–सिंगटी सडक खण्डको भदौरेमा रोल्वालिङ यातायात प्रालिको बा२ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।