२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको चेतावनी

ADV
मध्यान्ह
२०८१ कार्तिक ४ गते १३:०९
दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको चेतावनी

काठमाडौंः इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ । सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरूविरुद्ध ‘काम गर्ने’ भन्दै उक्त आदेश दिएको हो ।

उक्त ‘जरुरी चेतावनी’ सेनाका अरबी प्रवक्ता अभिचय अद्राईद्वारा जारी गरिएको थियो र यसले हारेत ह्रेइक र हदाथ छिमेकलाई सम्बोधन गरेको थियो । ‘तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडिएफले निकट भविष्यमा काम गर्नेछ’, अद्राईले टेलिग्राममा भने, ‘तपाईं र तपाईंका परिवारका सदस्यहरूको सुरक्षाका लागि तपाईंले तुरुन्तै भवन र त्यससँग जोडिएका भवनहरू खाली गर्नुपर्छ र त्यहाँबाट कम्तीमा पाँच सय मिटर टाढा जानुपर्छ ।’

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा गढ रहेको इरान–समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले आफ्नो अभियान तीव्र पारेपछि यस्तै चेतावनीहरूले हालैका साताहरूमा इजरायली हवाई आक्रमणहरूको सङ्केत गरेका छन् । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासको सहयोगी हिजबुल्लाहबीच गत वर्ष गाजामा युद्ध शुरु भएपछि लेबनानी सीमापार लगभग दैनिक गोलाबारी आदानप्रदान भइरहेका थिए ।

यद्यपि इजरायलले विनाशकारी हवाई आक्रमणहरू सुरु गर्दै र स्थल सेनाहरू तैनाथ गर्दै गत महिनाको अन्त्यतिर आफ्नो अभियानलाई तीव्र रूपमा बढाएको थियो । लेबनानी स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार सेप्टेम्बरको अन्त्यदेखि युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको ज्यान गएको छ ।

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलनमाथि आरोप लगाएपछि यी आक्रमण भएका हुन् ।

राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, ‘शत्रु (इजरायली) विमानहरूले आज बिहान हारेत ह्रेइकमा एक मस्जिद र अस्पताल नजिकै एक आवासीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरहरूमा दुई वटा आक्रमण गरे ।’

इजरायली सेनाले यसअघि नै छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक बस्ने नागरिकहरूलाई तुरुन्तै खाली गर्न ‘जरुरी चेतावनी’ जारी गरेको थियो । सेनाका अरबी प्रवक्ता अभिचय अद्राईले टेलिग्राममा भनेका थिए, ‘तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडीएफ (इजरायली सेना) ले निकट भविष्यमा कारबाही गर्नेछ ।’

केन्द्रीय शहर कैसरियामा प्रधानमन्त्रीको निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएको तर प्रधानमन्त्री नेतान्याहू र उहाँकी पत्नी घरमा नभएकाले कोही पनि घाइते नभएको नेतान्याहूको कार्यालयले शनिबार बताएको थियो । ‘आज मेरो र मेरी पत्नीको हत्या गर्ने इरानको प्रतिनिधि हिजबुल्लाहको प्रयास एक गम्भीर गल्ती थियो’, तेहरान र ‘यसका प्रतिनिधिहरू’ लाई लक्षित गर्दै नेतान्याहूले वक्तव्यमा भने, ‘जसले इजरायलका नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्छ, उसले भारी मूल्य चुकाउनु पर्नेछ, यसमा इजरायलसँग गत सेप्टेम्बरदेखि युद्धमा रहेको लेबनानको हिजबुल्लाह पनि समावेश छ ।’

इरानले नेतन्याहूको निवासमा भएको आक्रमणको पछाडि हिजबुल्लाहको हात रहेको बताएको छ । हिजबुल्लाहलाई इरानले हतियार तथा वित्तीय सहयोग गर्दछ । इरानको आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिशनले भन्यो, ‘यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो ।’ हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन । इजरायलले अक्टोबर १ को क्षेप्यास्त्र प्रहारका लागि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध बदला लिने प्रतिज्ञा गरेको छ । इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । (एजेन्सी)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise