२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

तत्काल विदेशी कामदारको कोटा नखोल्ने मलेसिया सरकारको निर्णय, नेपाली कामदार र व्यवसायी प्रभावित हुने

ADV
तिलोचन गौतम
२०८१ कार्तिक ६ गते ०६:३०
तत्काल विदेशी कामदारको कोटा नखोल्ने मलेसिया सरकारको निर्णय, नेपाली कामदार र व्यवसायी प्रभावित हुने

क्वालालम्पुर, मलेसिया : आम अपेक्षा र रोजगारदाहरूको चर्को दबाब विपरीत मलेसियाले विदेशी कामदारका लागि तत्कालै कोटा खुला गर्न नसकिने बताएको छ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलले विदेशी कामदारका लागि बन्द रहेको मलेसियाको रोजगारी तत्काल खोल्न नसकिने बताएका छन् ।

मलेसियाको १२औं योजनाअन्तर्गत सेप्टेम्बर १५ तारिकसम्ममा गरिएको सर्वेक्षणमा मलेसियामा विदेशी कामदारको संख्याले तोकिएको सीमा नाघेको देखिएको उनले बताएका हुन् । एक विज्ञप्तिमार्फत उनले थप अध्ययन र पुनर्विचारपछि विदेशी कामदारको कोटाका आवेदन रोक्का गर्ने यसअघिको निर्णयलाई आगामी केही समयका लागि यथावत राखिने निर्णय भएको बताए ।

मलेसियालाई तत्काल बिदेशी कामदारको माग नरहेको बताउँदै नयाँ कामदार कोटा तुरुन्तै नदिने निर्णय गरिएको इस्माइलले बताए ।

मलेसिया सरकारले विदेशी कामदारका ल्याउनका लागि रोजगारी कोटा खोल्ने निर्णयका विषयमा गम्भीर समीक्षा र पुनर्विचार गरेर थप व्यवस्थित तरिकालेमात्रै कामदार भित्र्याइने निर्णय गरिएको उनले बताए ।

अवैधानिक हैसियतमा मलेसियामा रहेर काम गर्दै आका विदेशी कामदारलाई मलेसिया सरकारले ल्याएको घरफिर्ती कार्यक्रम (आरटिके) २.० समेत आगामी डिसेम्बर ३१ मा सकिने र कामदार कोटा सिर्जना गर्न गम्भीर समीक्षा गरिने इस्माइलको भनाइ छ ।

मलेसियाले आफ्नो मुलुकमा २३ लाखभन्दा बढी विदेशी कामदार रहेको बताएको छ । औद्योगिक, निर्माण, सेवा, वृक्षारोपण, कृषि, घरेलु काम र खानी तथा उत्खनन क्षेत्रमा २३ लाख ७ हजार ७ सय ४६ विदेशी कामदार रहेको मलेसियाको मानव संशाधन मन्त्रालयले केही दिनअघि मात्रै सार्वजनिक गरेको थियो ।

त्यसमध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा बढी ७ लाख ३१ हजार, निर्माण क्षेत्रमा ६ लाख ४७ हजार, सेवा क्षेत्रमा ३ लाख ९४ हजार ७ सय ३९, वृक्षारोपण अर्थात प्लान्टेशन क्षेत्रमा २ लाख ६३ हजार १ सय ५१, कृषि क्षेत्रमा १ लाख ७१ हजार १ सय ३ र घरेलु कामदारको हैसियतमा १ लाख ६ सय ७५ हाराहारीमा विदेशी कामदार रहेका छन् । त्यसमा नेपालीको संख्या ४ लाख हाराहारी रहेको छ ।

नयाँ विदेशी कामदारको कोटा नखुलाउने मलेसियाको निर्णयले नेपाली अर्थतन्त्र र नेपाली म्यानपावर कम्पनी प्रत्यक्ष प्रभावित हुने देखिएको छ । नेपालमा क्रियाशीलमध्ये करिव आधा म्यानपावर कम्पनी मलेसियामा मात्रै कामदार पठाउने गरेका छन् । गत वर्ष फागुनदेखि नै मलेसिया कामदार पठाउन नपाउँदा करिब एकतिहाइ म्यानपावर कम्पनीले कम्पनी नवीकरणका लागि तोकिएको वार्षिक सय संख्या पुर्‍याउन पाएका थिएनन् ।

मलेसियाको नयाँ कोटा नखुलाउने निर्णयले मलेसिया मात्रै र त्यसमा पनि फ्रि भिसा फ्रि टिकट अर्थात इम्प्लोइमेन्ट पे मोडलमा कामदार पठाउने केही ठूला म्यानपावर कम्पनी वार्षिक सय जना कामदार पठाउन नसक्ने अवस्थामा पुग्ने खतरा उत्पन्न गराएको छ ।

साथै मलेसियाली गृहमन्त्री इस्माइलले मलेसियामा अवैधानिक विदेशी कामदार वैधानिक बन्न मिल्ने रिक्यालिब्रेसनको अवधि पनि सकिएकाले अब तत्कालै वैधानिक बन्न मिल्ने कुनै पनि कार्यक्रम सञ्चालन नहुने बताएका छन् । अक्टोबर पहिलो तारिकमा अवैधानिक विदेशी कामदारको दर्ता अवधि समाप्त भएको र उक्त अवधिमा अप्लाइ गरेका, तर भिसा नलागेका वैधानिक नभएका सबै समयमै स्वदेश फर्किनुपर्ने बताएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise