२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

पर्वतमा असिनाले धानबालीमा क्षति, कृषक चिन्तित

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते ११:३४
पर्वतमा असिनाले धानबालीमा क्षति, कृषक चिन्तित

पर्वत : जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।

कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।

जिल्लाको कुश्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्‍याएको हो ।

कुश्मा-१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे ।

उनका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ ।

सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।

महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताए ।

मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्‍याएपछि निराश बनेको उनको गुनासो छ ।

पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्‍याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्‍याएको छ ।

अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने उनले बताए ।

किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उनले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताए ।

यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise