२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्तकमैया

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते १४:४५
टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्तकमैया

कञ्चनपुर : वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ। त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । 

नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो। होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । आशापुरमा मुक्तकमैया बस्ती हो । विसं. २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो । 

हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ। “वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,” डगौँराले भने, “पछि नदी किनारमा तटबन्ध निर्माण भयो । जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो ।”

हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि  बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार मात्रै होइन् मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ । यहाँका अधिकांश स्थानीय डकर्मी छन् । कोही वैदेशिक रोजगारीमा छन्भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन् ।

“कमैया बस्दा दुःख थियो । दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो,” स्थानीय जानकी चौधरीले भनिन्, “कमैया मुक्त भएपछि सुरुमा केहीवर्ष अफ्ट्यारो भयो । हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ ।”

उनका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईवस्तु चराउनेलगायत घरका सबै काम गर्नुपथ्र्यो। पुरुषहरुलाई खनजोत गर्ने, दाउरा चिर्नेलगायत कामबाट फुर्सद हुँदैनथ्यो । 

कमैया मुक्तपछि सागसब्जी खेती गर्न थालेकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । 

“कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ। खेती छोडेका छैनौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ,” उनी भन्छिन्, “रु. डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।”

कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिगाह जमिन अधियाँमा लिएर धान,गहुँ खेती गर्छिन् । आफ्नै नौँ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत सागसब्जी खेती गर्नुभएको छ । च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ । मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् । 

बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उनले घरखर्च चलाउँदै आएका छन् । “अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ । सिँचाईँ हुँदा राम्रो उब्जाउ हुन्छ,” मानबहादुर भन्छन्, “थोरै सिँचाईको असहजता छ । नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।”

सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गरेका छन् । आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि जानुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहेका छन् । 

”नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे । अहिले राम्रो आम्दानी भइरहेको छ,” उनले भने, “स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ ।”

स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्नुहुन्छ । अब्बल मिस्त्री गनिने उनलाई काम गर्न भ्याईनभ्याई छ । कमैया मुक्ति घोषणापछि विभिन्न सङ्घसंस्थाले सीपमूलक तालिम दिएका थिए ।

त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउँछन् । “सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरे । काम गर्दै जाँदा मिस्त्री भइयो,” उनले भने, “मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ ।”रासस

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise