२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

Nada
२०८१ कार्तिक ६ गते १८:३२
Shares
उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गरेका छन् । आज मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको हो । 

ncell

समितिको सदस्यमा स्वास्थ्यविद् डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहेका छन् ।

समितिलाई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुनेगरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सुझाव दिन कार्यादेश दिइएको छ । यस्तै, छिमेकी देशहरूले अपनाइएका औषधिको मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी मूल्य निर्धारणसम्बन्धी आधार पहिचान गरी नीतिगत सुधारका लागि सुझाव दिन पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले समितिले औषधिका मूल्यसम्बन्धी अभ्यास पुनरावलोकन गरेर गुणस्तर पहिचानका लागि सुझाव दिन कार्यजिम्मेवारी दिइएको बताए । ‘औषधिको मूल्यसँग सम्बन्धित नीतिगत प्रणाली, बजार मूल्य, आयात निर्यातको अवस्था तथा सरकारी नीति, मूल्य निर्धारण गर्नुपर्ने थप औषधिहरूको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्यसम्बन्धी आधारसहित सुझाव दिनेछ’, उनले भने । 

कार्यसम्पादनका लागि आवश्यक कार्यविधि समिति आफैँले निर्धारण गरेर आवश्यकताअनुसार विषयगत उपसमिति गठनलगायत काम गर्नसक्ने जनाइएको छ । समितिको सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णय लिने प्रवक्ता डा बुढाथोकीले बताए । 

ताजा खबर

सम्बन्धित खबर