२०८१ कार्तिक ७ गते बुधवार / Oct 23 , 2024 , Wednesday
२०८१ कार्तिक ७ गते बुधवार

बेलायत भ्रमणमा रहेका धरानका मेयर साम्पाङको सम्मानमा विलियम हार्भे हस्पिटलमा स्वागत समारोह

ADV
मनीषा श्रेष्ठ
२०८१ कार्तिक ६ गते २२:३५
बेलायत भ्रमणमा रहेका धरानका मेयर साम्पाङको सम्मानमा विलियम हार्भे हस्पिटलमा स्वागत समारोह

आशफोर्ड केण्ट, बेलायत : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई बेलायत भ्रमणमा रहेका छन् । उनी धरान समाज युकेको निमन्त्रणामा गत बिहीबार साँझ लण्डन आइपुगेका हुन् । लण्डनमा उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

यसैक्रममा मंगलबार मेयर साम्पाङ बेलायतको आशफोर्ड केण्टस्थित विलियम हार्भे हस्पिटलको भ्रमणमा आएका थिए । उक्त अस्पतालमा अधिकांश चिकित्सक, नर्सदेखि परिचारक परिचारिकासम्म नेपाली समुदायको बाहुल्यता रहेको छ । मेयर साम्पाङको स्वागतमा हस्पिटलमा कार्यरत नेपाली समुदायले एक स्वागत भेट समारोहको आयोजना गरेको थियो । हस्पिटलका जनरल सर्जरी कन्सल्टेन्ट तथा इस्ट केन्ट हस्पिटल ट्रष्टका क्लिनिकल डाइरेक्टर डा. प्रदीप बस्नेत, जनरल सर्जरी कन्सल्टेन्ट डा. आशिष श्रेष्ठ, नर्स रिता लिम्बू, नर्स निसुमा लिम्बू, मालती सुब्बा तथा अनङ पंगेनीले मेयर साम्पाङलाई भव्यरुपमा स्वागत गरेका थिए ।

हस्पिटलको निरीक्षण भ्रमणका क्रममा मेयर साम्पाङले त्यहाँस्थित सर्जिकल वार्ड, आईटीयूसहित विभिन्न वार्डहरुको अवलोकन गरेका थिए । साथै आयोजकले मेयर साम्पाङसँग प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।

प्रश्नोत्तर कार्यक्रममा सहभागीहरुले धरानमा राम्रो काम गरेको भन्दै मेयर साम्पाङको प्रशंसा गरेका थिए । साथै सहभागीहरुले धरानमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नति गरेर बिरामीहरुको उपचारका लागि व्यवस्थित बनाउन सुझाव दिएका थिए । यस्तै धरानमा रहेका शिक्षण संस्था तथा ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा पनि सुधार गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा मेयर साम्पाङले आफूलाई बेलायतको स्वास्थ्य प्रणाली मन परेको बताउँदै यस्तै स्वास्थ्य प्रणाली धरानमा लागू गर्न पहल गर्ने बताए । आफू प्रधानमन्त्री मन्त्री नभएर एउटा स्थानीय तहको मेयर मात्र भएको बताउँदै उनले बेलायतको जस्तो स्वास्थ्य प्रणाली देशभर लागू गर्न नसके पनि धरानमा लागू गर्न पहल गर्ने बताएका हुन् ।

मेयर साम्पाङले बेलायत आएर आफूले धेरै कुरा सिकेको बताउँदै आफूले सिकेका कुराहरु जहाँ कार्यान्वयन गर्न सकिन्छ त्यहाँ कार्यान्वयन गर्ने र जहाँ सुझाव दिन सकिन्छ त्यहाँ सुझाव दिने प्रतिबद्धता पनि जनाए ।

उनले कुनै पनि कामलाई सानो र ठूलो भनेर वर्गीकरण नगरी काम गर्नुपर्नेमा जोड दिए । घुम्ने कुर्सीमा बसेर काम गर्नेलाई ठूलो र झाडु लगाउनेलाई सानो भनेर वर्गीकरण गर्न नहुने उनको भनाइ थियो । उनले सबै काम बराबरी रहेको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दारीका साथ काम गर्नुपर्ने बताए ।

कार्यक्रममा उनले नेपालमा जे काम गरे पनि मुद्दा मात्रै पर्ने गरेको गुनासो पनि पोखे । आफू बेलायत आउँदा पनि नेपालमा आफूविरुद्ध मुद्दा परिसकेको उल्लेख गरे । उनले नेपालमा पाइलै पिच्छे मुद्दा मामिला परिरहने, तर आफू जनताको पक्षमा दृढतापूर्वक काम गरिरहने बताए । मेयर साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise