काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने भएको छ ।
पूर्वगृहमन्त्री एवं गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको हो ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो ।
प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए ।
तर अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कास्की प्रहरी प्रवक्ता एवं डीएसपी बसन्तकुमार शर्माका अनुसार सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान हुने भएको हो । उनका अनुसार एउटै मुद्दामा अब तीनवटा अपराधमा अनुसन्धान हुनेछ । संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ ।
रास्वपा सभापति लामिछाने यही कातिक २ गते पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो ।
त्यसआधारमा काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो । कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।
अब भने सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको हो ।
सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका रवि लामिछानेसहित जिबी) राई, छविलाल बञ्जाडे जोशीको सम्बन्धमा पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ ।
बिहीबार अदालतले राई, जोशी र लामिछानेसहित अन्य १२ जनालाई पक्राउ अनुमति दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।
छविको यसअघि नै रुपन्देहीमा १३ घण्टा बयान गराइएको छ । प्रहरीका अनुसार रविलाई आज शुक्रबार कास्कीबाट रुपन्देहीमा लैजाने तयारी छ । बुटवलको सुप्रिम सहकारीबाट जोशीका नामबाट दुई करोड ५० लाख रुपैयाँ र रविका नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ ।
जिबी, कुमार रम्तेल, भूपेन्द्रबाबु राईसहित गोर्खा मिडियाकै नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा सुप्रिमबाट गोर्खा मिडियामा गएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।