२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेतृत्वको दौडमा घनश्याम

ADV
दिवाकर अधिकारी
२०८१ असार ३ गते ०७:००
नेतृत्वको दौडमा घनश्याम

काठमाडौं : नेकपा एकीकृत समाजवादीको नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल । 

माधव नेपालको नेतृत्वमा तीन वर्ष अगाडि नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको थियो । पार्टी फुटाएर आएको र पार्टी बनाउने अभियानमै रहेको तर्कका  साथ नेपाल नेतृत्वमा दोहोरिन चाहन्छन् । 

एमालेबाट विभाजन भएपछिको पहिलो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएर प्रभाव र विरासत कायम राख्न जमर्को गरिरहेका नेपाललाई रोक्ने प्रयासमा छन् एकीकृत समाजवादीका सम्मानित नेता खनाल । 

तीन वर्षमा पनि पार्टी फुटको औचित्य पुष्टि हुने गरि नीति, कार्यक्रम, कार्यदिशा र सिद्धान्त अगाडि नसारेको भन्दै सम्मानित नेता खनालले नेतृत्व हत्याउन खोजेका छन् ।

खनाल र नेपाल दुवै पूर्वप्रधानमन्त्री हुन् । दुवैले नेकपा एमाले समेतको नेतृत्व गरिसकेका छन् । 

यो अवस्थामा नयाँ पुस्ता समेतको मतको आधारमा महासचिव घनश्याम भुसाल महाधिवेशनबाट नेतृत्वमा चुनिने दौडमा छन् । सके सर्वसम्मत नसके खनालको साथ लिएर भएपनि नेतृत्वका लागि प्रयास गर्ने खनालको राणनीति छ । खनाल पनि सके आफैँ लड्ने नसके वा चुनाव हार्ने जस्तो देखे भुसाललाई अगाडि बढाउने मनस्थितिमा छन् । यसकारण पनि भुसाल नेतृत्वका लागि तिव्र लविङमा रहेका हुन् । 

भुसाललाई साथ दिनेमा पार्टीका नेताहरुमा सचिव रामकुमारी झाँक्री लगायत रहेको बताइन्छ । 

एकीकृत समाजवादीमा आउनु अगाडि भुसाल एमालेमा उपमहासचिव भुसाल थिए । उनी २०७९ साल पुष २९ मा नेकपा एकीकृत समाजएसमा प्रवेश गरेका थिए । 

एमालेमा रहँदा भुसाल नेपाल निकट भए थिए । तर, भुसालले एमाले विभाजनका बेलामा भने साथ दिएनन् । तत्कालीन एमालेभित्रको विवाद मिलाउन भनेर भुसाल सहितका नेताहरुले एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेका थिए । 

तर, भुसाल एमालेमा रहिरहन सकेनन् । एमालेको १० औँ महाधिवेशनमा उपाध्यक्षमा भुसालले प्रतिस्पर्धा गरे । तर, एमाले अध्यक्ष ओलीको लिस्टमा नपरेपछि चुनाव हारे । 

२०७९ को आमनिर्वाचनमा भुसाल रुपन्देहीबाट चुनाव लड्न चाहन्थे । एमाले अध्यक्ष ओलीले टिकट दिएनन् । 

त्यसपछि भुसालले एमाले छाडे र स्वतन्त्र उम्मेदवारी दिए । 

भुसाललाई माओवादी केन्द्रले तत्कालीन कांग्रेससहितको पाँच दलीय गठबन्धनमा आफूले पाएको सिट भुसालका लागि छोडेर समर्थन गरेको थियो । तथापि, एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भए ।

चुनावपछि २०७९ साल पुष २९ गते भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । अब एकीकृत समाजवादीकै नेतृत्व गरेर अगाडि बढ्ने उनको चाहना छ । 

एकीकृत समाजवादीको यही असार १६ गतेदेखि २० गतेसम्म महाधिवेशन हुँदैछ । समाजवादीमा १ सय २५ जिल्ला सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि छानिने व्यवस्था छ । प्रतिनिधि छनोटको मुख्य कामपछि महाधिवेशनको तयारी र व्यवस्थापनमा लाग्ने पार्टीको तयारी छ ।

नेताहरुका अनुसार महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि पार्टी पंक्तिमा पठाइएको छ । 

प्रतिनिधि निर्वाचनका लागि प्रदेश इञ्चार्ज, सहइञ्चार्जहरू तथा अध्यक्ष, जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरू, जनसंगठनका इञ्चार्ज तथा सहइञ्चार्जहरू, केन्द्रीय विभागका प्रमुखहरू र केन्द्रीय कार्यालय सचिवले आ–आफ्नो कार्यक्षेत्रका निर्वाचनको अनुगमन गर्नेछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise