काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक रकम मागेको छ । आयोगका अनुसार मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको तयारीमा आयोग छ । निर्वाचन खर्चका लागि आयोगले आवश्यक रकम सरकारसँग माग गरेको हो ।
स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ । उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको हो ।
निर्वाचनमा कर्मचारी खटाउन, आवश्यक केही सामग्री किन्न, मतगणना लगायतका काममा मुख्य निर्वाचनकै जसरी खर्च हुने आयोगले जनाएको छ ।
आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारको निर्वाचन खर्चको सीमा पनि तोकिकएको छ । आयोगले २ दिन अघि बसेको बैठकले खर्चको हद निर्धारण गरेको आयोगले जनाएको हो ।
स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन तथा स्थानीय तह निर्वाचन नियमावली, बमोजिम उम्मेद्वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको हो ।
महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछन् ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।
महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ ।
नगरप्रमुख, गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षसम्म रिक्त रहेका ४३ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुनेछ ।
निर्वाचन समाग्रीहरूको तयारी गर्ने, मतदाता नामावलीको विषयवस्तु हेर्नेदेखि लिएर निर्देशिका बनाउने लगायतका काम भइरहेको छ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएपछि अलि बढी काम हुन्छ । अहिले उपनिर्वाचनका लागि विभिन्न तयारीका काम भइरहेको छ । निर्वाचनको निर्देशिका तयार गर्ने काम पनि भइरहेको छ ।
आयोगले कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्नुका साथै मतदान स्थल निर्धारण गर्नेछ । कातिक ३० गते आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ । त्यसका लागि स्थल चयन भइसकेको जनाइएको छ ।
मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।