२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

अनुगमनमा असहयोग गरेको प्रति क्षमा याचना, फलफूल बजारको अनियमितता रोक्ने प्रतिबद्धता 

ADV
मध्यान्ह
२०८१ कार्तिक १० गते १५:२९
अनुगमनमा असहयोग गरेको प्रति क्षमा याचना, फलफूल बजारको अनियमितता रोक्ने प्रतिबद्धता 

काठमाडौँ : बजार अनुगमन गर्ने सरकारी टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट भएको गल्ती स्वीकार्दै माफी मागेका छन् । उनीहरूले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनमा कुलेश्वरको फलफूल बजारमा हुने गरेका सबैखाले अनियमिमता रोक्ने प्रतिबद्धता समेत जनाएका छन् ।

विगतमा बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई आफूहरूबाट अनजानमा असहयोग भएको र आगामी दिनमा गल्तीहरू नदोहोरिने नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अम्मर बानियाले बताए ।

गत असोज २०गते कालीमाटी र कुलेश्वर क्षेत्रका व्यापारीहरूले बजार अनुगमनमा गएको सरकारी टोलीलाई अनुगमनमा असहयोग गर्दै टोली फर्किएपछि नाराबाजी समेत गरेका थिए ।

त्यस दिन गरिएको कालीमाटीको तरकारी बजार र कुलेश्वरको फलफूल बजारमा अनुगमन गर्दा अधिकांश व्यापारीहरूले बिल बिजक बिना नै कारोबार गरिरहेको, पसलमा मुल्यसूची नराखेको, अस्वाभाविक मूल्यमा सामग्रीहरू बिक्री वितरण गरेको तथा कालीमाटी स्थित माछा पसलहरूमा सरसफाइ नगरेको पाइएको थियो ।

२० असोजको अनुगमन टोलीसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमेत छड्के अनुगमनमा निस्किएका थिए । मन्त्री भण्डारी त्यहाँका दुई पसललाई कारबाही गर्न निर्देशन दिँदै फर्किएका थिए । उनी फर्केपछि व्यापारीहरूले अनुगमन टोलीलाई दुर्व्यवहार गर्न खोजेका थिए ।

व्यापारीहरूले यस पटक मात्रै नभई अघिल्ला वर्षहरूमा समेत सरकारी अनुगमन टोलीलाई असहयोग गर्दै आएका थिए । अब उप्रान्त आफूहरूबाट कुनै प्रकारको असहयोग नहुने व्यापारीहरूको प्रतिबद्धता छ ।

उनीहरूले सबै पसलहरूमा अनिवार्य रूपमा खरिद र बिक्री बिल राख्ने, सामानको मुल्यसूचि राख्नुका साथै नियमित सरसफाइ गर्ने बताएका छन् । अनुगमनपछि पनि बजारको अनियमितता केही मात्रामा सुधार आउन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

तरकारी तथा फलफुल व्यापारीहरूका उचित समस्याको सरकारले सम्बोधन गर्न सक्ने मन्त्री भण्डारीले बताए । त्यसका लागि अनुगमन टोली जाँदा व्यापारीहरू भाग्नुभन्दा अनुगमनमा सहयोग गर्नुपर्ने उनको भनाई छ । अहिलेसम्म यो कुरा सरकारसमक्ष प्रस्तुत गर्न नपाएको र वर्तमान मन्त्री भण्डारीले आफ्ना मागहरू सुनिदिने भनेपछि उत्साहित भएको फलफूल व्यवसायीले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise