२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एनआरएनएद्वारा एकताका लागि आह्वान

Nada
२०८१ कार्तिक १० गते २१:५९
Shares
एनआरएनएद्वारा एकताका लागि आह्वान

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी कात्तिक ११ र १२ (अक्टोबर २७–२८) गते हुने  वार्षिक साधारण सभा र विश्व सम्मेलनबाट एकता र भाइचाराको भावनलाई मूर्त रुप दिनुपर्ने बताउँदै एकताका लागि आह्वान गरेको छ । 

ncell

गत सोमबार (कात्तिक ५) गते मात्रै साधारणसभा रोक्न माग गर्दै वार्षिक साधारण सभा तथा विश्व सम्मेलन गर्न नपाउने भनी उच्च अदालतमा रिट दायर भएको रिटमा न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन लागेको एनआरएनएको उक्त कार्यक्रमका लागि अदालतले दिएको आदेशबमोजिम कार्य गर्न संघ तत्पर रहेको शनिबार एक विज्ञप्तिमार्फत बताइएको छ । 

एनआरएनएका महासचिव गौरीराज जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारको सरोकारवाला निकायसँग गैरआवासीय नेपालीको सरोकारका विषयमा सहकार्यका लागि तयार रहेको छ । सर्वोच्च अदालतका आदेश सम्मान गर्दै सोही बमोजिम कार्य गर्न पनि संघ तत्पर रहेको छ ।’

नेपाल र नेपालीले गैरआवासीय नेपालीमाथि ठूलो अपेक्षा राखेको बताउँदै विज्ञप्तिमा आपसका मतभिन्नता र मतभेदलाई संवादबाटै चिरेर अघि बढ्नुको विकल्प नभएको बताइएको छ । 

‘हामी एक आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प छैन। गैरआवासीय नेपाली संघ सबै विदेशमा बस्ने नेपालीहरूको आवाज बुलन्द बनाउने हामी सबैको संयुक्त जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आ–आफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ताहरुमा सविनय अनुरोध गर्दछौँ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘हाल आयोजना गरिने कार्यक्रम एकताको अवरोधको रुपमा नभई सहयोगीकै रुपमा बुझिदिन हुन अनुरोध गर्दछौँ ।’

सम्बन्धित खबर