२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

ओमकुमारी शान्ति कोषको नेतृत्वमा सन्दीप खत्री सर्वसम्मत चयन

ADV
तिलु शर्मा पौडेल
२०८१ कार्तिक ११ गते ११:३३
ओमकुमारी शान्ति कोषको नेतृत्वमा सन्दीप खत्री सर्वसम्मत चयन

म्याग्दी, बेनी : ओमकुमारी शान्ति कोष म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार बेनीमा खुला र बन्द गरी दुई चरणमा सम्पन्न कोषको दशौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनको बन्द सत्रबाट सन्दीप खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा खम थापा मगर, प्रथम उपाध्यक्षमा लोकेश पुन मगर, महासचिवमा विनय श्रेष्ठ, सचिवमा दीपक श्रेष्ठ,  कोषाध्यक्षमा नेत्रराज सुवेदी  र सह-कोषाध्यक्षमा टकसरा राना चयन भएका छन् ।

सदस्यहरूमा मिना राम्जाली, राजेन्द्र आचार्य, कृष्ण जिसी, नन्दु पाइजा, कमल खत्री, सन्तोष गौतम र वीरेन्द्र श्रेष्ठ चयन भएका छन् । निर्विरोध निर्वाचित कार्यसमितिलाई कोषका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक चन्द्र कुमार केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । 

अधिवेशनको खुला सत्र कोषका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  अधिवेशनमा प्रमुख अतिथिसहित प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजालगायतले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले विपन्नको उपचारमा सघाउँदै आएको संस्थाको गतिविधिलाई थप सक्रिय बनाउन अनुरोध गर्दै दु:खीको दु:खलाई जित्न निरन्तरताको सुझाव दिएका थिए । अधिवेशनलाई महासचिव विनय श्रेष्ठले सहजीकरण गरेका थिए ।

साधारण सभामा संस्थाले हालसम्म जटिल रोगबाट थलिएका तीन सय ४८ जना बिरामीलाई स्वास्थ्य संस्थामा पुग्न र उपचारका लागि अक्षयकोषबाट ५३ लाख २५ हजार पाँच सय ३१ रुपैयाँ र अभियानबाट दुई करोड छ लाख २४ हजार सात सय २८ रुपैयाँ सहयोग गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । पछिल्लो कार्यसमितिको दुई वर्षे कार्यकालमा कोषको ब्याजबाट ६९ जनालाई चार लाख ६८ हजार र अभियानबाट ६३ हजार एक सय ९५ रुपैयाँ सहयोग गरिएको छ । संस्थाको कोषमा एक करोड ३६ लाख ७६ हजार दुई सय ६९ रुपैयाँ बचत रहेको छ ।

एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको संस्थाले कोषको ब्याजबाट विपन्न बिरामीको उपचारमा सघाउँदै आएको छ । कोषमा आठ सय ९१ जना आजीवन, दुई जना गोल्ड संरक्षक, दुई जना टाइटेनियम संरक्षक सदस्य, २९ जना डायमण्ड संरक्षक सदस्य र आठ जना संरक्षक सदस्य छन् ।

बोन म्यारो रोगबाट थलिएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति)को उपचारका क्रममा निधन भएपछि उनको उपचारका लागि दाताले दिएको खर्च हुन बाँकी रकमबाट वि.सं. २०७१ मा कोष स्थापना गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise