काठमाडौँ : गृहमन्त्री रमेश लेखक गैर आवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताएका छन् । गैर आवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैर आवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका हुन् ।
‘नेपालका लागि केही गर्न उद्देश्य राख्नु भएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नु भएको छ, उनले भने,’गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईँहरू रहेको देशमा तपाईँको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईँले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’
गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरूले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए। ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईँको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ’उनले भने ।
यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । तपाईँहरू पनि त्यसरी नै आउनुहोस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईँ पनि गृहकार्य गरेर आउनुहोस्,’उनले भने । लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै लोकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए ।