काठमाडौँ : नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।
मानवीयताका आधारमा थाई एयर एसियाको जहाजलाई काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।
बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भयो ।
उक्त कुरा विमानस्थलले नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।