काभ्रे : कतारमा स्थापित करिब तीन दर्जन संघसंस्थाहरूसहित विभिन्न व्यक्तित्वहरूको सहयोगमा संकलित रकम बाढी पहिरोका पीडितहरूलाई हस्तान्तरण गरिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सबैभन्दा बढी क्षति भएको बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर- १, २ र ३ का स्थानीय पीडितहरूलाई संकलित रकमबाट अत्यावश्यक सामग्री खरिद गरी हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले जनाएको छ ।
वितरण गरिएका सामग्रीहरू तीन लाख पचास हजार रुपैयाँ बराबरका लत्ताकपडासहित खाद्य समग्रीहरु रहेका थिए । राहत वितरण कार्यक्रममा घर बिदामा नेपाल आएका एनसीसी कतारका पूर्वअध्यक्ष नरेन्द्र भाट, एनसीसी कतारका सल्लाहकार बुद्धि प्रसाद भण्डारी, सामाजिक अभियान्ताहरु सिताराम थापा, दीपक लामिछानेले र राजु पुडासैनीसहितको टोलीले प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर राहत वितरण समितिका अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि एवम् स्थानीय निकायसँगको समन्वय तथा सहकार्यमा पीडित परिवारलाई वितरण गरेको थियो ।
कतारमा विभिन्न समस्यामा परेका श्रमिकहरूको सेवामा अग्रणी रहने एनसीसी कतारले नेपालका हरेक विपत्तिमा सघाउँदै आइरहेको छ । 'बाढी र पहिरोका कारण सयौं नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । यस्तो अवस्थामा प्रवासीलाई धेरै दुख्ने रहेछ र चुप लागेर बस्न सकिने रहेनछ, त्यसैले सार्वजनिक रूपमा सहयोगको अपिल गर्दै प्राप्त रकममार्फत पहिलो चरणमा सहयोग गरेका हौं,' एनसीसी कतारका अध्यक्ष रमेश भट्टले मध्यान्हसँग भने ।
उनले हजारौं नागरिक घरबारविहीन भएको हुँदा एनसीसी कतारले पनि दोस्रो चरणमा फरक स्थानमा राहात वितरण गर्ने बताए । अध्यक्ष भट्टले मानवीय सेवाका लागि आर्थिक सहयोग गर्ने कतारका विभिन्न संघसंस्थासहित राहत वितरणका लागि समन्वय गर्ने एनसीसीकै सल्लाहकार माया केसी तथा विभिन्न व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।