२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’

Nada
२०८१ कार्तिक १२ गते १०:३४
Shares
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’

सिरहा : चुरेको फेदमा अवस्थित छ ‘गोसाईं डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बिचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।

ncell

लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाईं डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब  १० किलोमिटर उत्तरमा पर्छ यो ताल । 

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यवस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताए । झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चारवटा सानाठूला पोखरीसमेत रहेका छन् । प्राकृतिक सुन्दरताका साथै थप पयटकीय संरचनाको निर्माणपछि पर्यापर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्र विकास भएको उनले जानकारी दिए । 

अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, संवर्द्धन र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट रु ७० लाख, वन तथा भूसंरक्षण विभागबाट रु २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट रु ४० लाख, संसद् विकास कोषबाट रु १५ लाख सहयोग रकम खर्च भएको छ । 

त्यसैगरी पर्यटन विकास कार्यालय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी रु ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थललगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ । 

त्यसैगरी आगामी दिनमा यहाँ भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।  ठूलो सम्भावना बोकेको यो ताललाई पर्यटकीयस्थलको रूपमा विकास गरी स्थानीयको आर्थिक उपार्जनमा टेवा पुर्‍याउन डिभिजन वन कार्यालय लहानले सहयोग गरिरहेको कार्यालय प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए। सामुदायिक वनभित्र भएका स्रोतसाधनको पहिचान गरी लाभ लिन उपभोक्ता समितिका सदस्यलाई उनले आग्रह गरे ।

यस पर्यटकीय क्षेत्रमा आवतजावतको लागि बानोखोलामा पुल नबन्दा वर्षाको समयमा खोला तर्न समस्या परेको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए । पुल निर्माणको लागि नगरको मात्रै स्रोतले सम्भव नरहेकाले प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरिने लहान नगर उपप्रमुख रामचलितार महतोले बताए । 

साथै उनले जमिनमा पानीको सतह घट्दै गएकाले चुरे क्षेत्रमा यस प्रकृतिका पोखरीले ‘वाटर रिचार्ज’ हुने भन्दै वन उपभोक्ता समितिले वनजंगल संरक्षण र जलाधार क्षेत्र संरक्षणको लागि गरेको प्रयासमा नगरपालिकाले सधैँ सहयोग र प्रोत्साहन गर्ने बताए । 

जलवायु परिवर्तनको चुनौतीलाई सामना गरी तालको संरक्षणको साथसाथै हरियाली प्रवर्द्धन गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने जिल्ला वन क्षेत्र समन्वय समितिका पदेन सदस्य रहेका जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले जोड दिए । 

चुरेको काखमा अवस्थित ‘गोसाईं डाँडा ताल’ले पोखराको फेवातालको झल्को दिने स्थानीय बताउँछन् । तालको बिचमा जमिनको भाग उठेको छ । यसलाई थप आकर्षक बनाई आन्तरिक तथा बाह्य पर्यटकको आगमनबाट स्थानीयको रोजगारीमा समेत अभिवृद्धि हुने यसका अध्यक्ष चौधरीको भनाइ छ । यस पर्यटकीय क्षेत्रको विकासका लागि सबैलाई सहयोग र प्रचारप्रसार गरिदिन अध्यक्ष चौधरीले आग्रह गरे । 

सम्बन्धित खबर