काठमाडौँ : बोधिचित्त (बुद्धचित्त)को दाना लुटपाट तथा विष्फोटक पदार्थसहित आतंक फैलाएको घटनाका आरोपित रामकृष्ण मैनाली भनिने सागर ५ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रामकृष्णसहित विजय हुमागाईँलाई भक्तपुरको जगातेबाट पक्राउ गरेको हो । रामकृष्ण मैनालीले ५ वर्ष अघि बोधिचित्तको रुख लुटपाट गरेको आरोप छ ।
साथै प्रहरीले समातेको व्यक्ती भेट्न पुगेका प्रताप लामालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउबारे थप विवरण अनुसन्धानको क्रममा रहेकोले सार्वजनिक नगरिएको प्रहरीको भनाई छ ।
प्रहरीले घटनाका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
५ वर्ष अघि रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरू लुटेको अभियोगमा २०७७ असोज २६ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भएको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएका थिए ।
२०८१ वैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरूको सजाय निर्धारण गरेको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर बापत राधाकृष्ण मैनाली सागर, विजय हुमागाईँ लगायतलाई ९ वर्ष कैद र ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।