२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत

Nada
२०८१ कार्तिक १३ गते १९:२२
Shares
अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरेका छन् ।

ncell

सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानूनी कारबाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सिर्जना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारबाही गरिसकेको छ । बाँकी पनि छानबिन र कारबाहीको दायरामा आउनेछन् ।’

नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखीकरण कक्षामा बोल्दै उनले पत्रकार आचारसंहिता उल्लंघन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न सबैलाई आग्रह गरे ।

‘केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, तथ्यहीन आरोप सुनियोजित ढंगले आइरहेका छन् । समाज बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानूनी कारबाही भइरहेको छ’, अध्यक्ष बस्नेतले भने ।

प्रेस काउन्सिलले दुई साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानूनी कारबाहीका लागि नेपाल प्रहरीको साइबरव्यूरो पठाएको थियो भने केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही बढाइरहेको छ ।

No description available.

अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा अहिले फस्टाइरहेका अनलाइन र युट्युब सञ्चारमाध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनबाट हमेशा ख्याल गर्नुपर्नेमा विशेष जोड दिए ।

‘पत्रकारिताका आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । विश्वव्यापी मान्यता बोकेका आचारसंहिता छन् । तिनलाई कुल्चेर मनलाग्दी सूचना सम्प्रेषण गर्नु पत्रकारिता क्षेत्रको बद्नामी मात्र होइन समाज भड्काउनु समेत हो’, बस्नेतले भने ।

विवादरहित र सही पत्रकारिताले विकास निर्माण र समृद्धि ल्याउन ठूलो भूमिका ल्याउने हुँदा त्यसतर्फ सबैले ध्यान पुर्‍याउन उनको सुझाव थियो ।

पत्रकार अभिमुखीकरण कक्षामा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गरेका थिए ।

यसैबीच काउन्सिलमा पत्रकारद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी बोर्ड सदस्य नियुक्त भएका छन् । दुवै सदस्यले मंगलबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतबाट शपथ लिइ कामको शुरुवात गरेका छन् ।

No description available.

सम्बन्धित खबर