२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

उत्पादन बढाउनुहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ: स्वास्थ्यमन्त्री पौडेल

Nada
२०८१ कार्तिक १४ गते १७:४९
Shares
उत्पादन बढाउनुहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् । 

ncell

आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए । देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो ।   

“वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौँ”, मन्त्री पौडेलले भने । उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाएको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उल्लेख गरे । 

“समितिले उत्पादन बढाउँदै आर्थिक स्तर सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ । यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ । सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन”, मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्त्व रहेको उल्लेख गरे ।  “वैद्यखाना नेपालको मौलिक विधिबाट सञ्चालित संस्था हो । यसमा हाम्रो मौलिकतासँगै आध्यात्मा र इतिहास जोडिएको छ । यो हाम्रो संस्कृति र परम्परा पनि हो । अहिले समितिको उत्पादन घट्दो छ, यो पनि बन्द हुने स्थिति भयो भने हाम्रो मौलिकता समाप्त हुन्छ”, उनले भने । मौलिकता र संस्कृति जर्गेना गर्न पनि उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा अर्थसमितिका सभापति सन्तोष चालिसेले वैद्यखानाको विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले समितिबाट उत्पादन वृद्धि गर्न सरकारले वातावरण मिलाएमा आफूहरूले विदेशमा समेत निर्यात गर्ने गरी उत्पादन वृद्धि गर्दै जाने बताए । उनले विदेश निर्यातका लागि बजार व्यवस्थापनका लागि सहयोग गर्न मन्त्रीसमक्ष प्रस्ताव राखे ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ्न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिए । नेपाल आयुर्वेद चिकित्सा संघका अध्यक्ष डा. श्यामबाबु यादवले वैद्यखानामा दरबन्दी थप्न र कर्मचारीको वृद्धि विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराए । सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष प्रा. डा. ठाकुरप्रसाद दुवाडीले वर्षिकोत्सवको शुभकामना आदानप्रदान गर्दै आर्थिक रूपले समितिलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।  

कार्यक्रममा चन्द्र निघण्टुको १०औँ भाग मन्त्री पौडेललगायत विशिष्ट अतिथिहरूद्वारा विमोचन गरिएको थियो । राजा प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको वैद्यखाना त्यसपछि थापाथली दरबार हुँदै सिंहदरबारमा स्थानान्तरण भएर २०५२ सालदेखि विकास समिति अन्तर्गत सञ्चालित हुँदै आएको छ ।

सम्बन्धित खबर