काठमाडौं : तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा अर्याललाई सफाइ दिएको हो ।
बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाइ दिएको हो ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी डा वैकुण्ठ अर्यालले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै एलएमबीएस माध्यमबाट बजेट विनियोजन भएको देखिएको सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिव समक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्विक फरक पर्ने अवस्था देखिन आएन । साबै निजले राष्ट्रिय आवश्यकता र महत्वको आयोजना कार्यान्वयन गर्ने सवनियतले काम गरेको देखिँदा निज प्रतिवादीबाट नेपाल सरकारको सम्पत्ति हानीनोक्सानी गरेको र आफूलाई निजी लाभ लिने बदनियत लिएको भन्ने आरोपवावी पुष्टि हुन नसकी निज प्रतिवादीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ ।’