२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कानूनविपरीत चन्दा उठाउनेमाथि कारबाही गर्दै पचरौता नगरप्रमुख जैसवार

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक १९ गते १९:०३
कानूनविपरीत चन्दा उठाउनेमाथि कारबाही गर्दै पचरौता नगरप्रमुख जैसवार

रौतहट : बाराको पचरौता नगरपालिकामा परापूर्वकालदेखि लाग्दै आएको महाबिरी झण्डा मेलाको विवाद चर्कंदै गएको छ । पचरौता नगरपालिका–७ बेनौली गाउँमा परापूर्वकालदेखि लाग्दै आएको महाबिरी झण्डा मेलाका लागि तीन वटा मेला समिति गठन भएपछि विवाद चर्किएको हो । 

पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारले मेला लगाउने नाममा विभिन्न समूहहरुले बलजफ्ती चन्दा उठाउने काम गरिरहेकाले तत्काल रोक्न आग्रह गर्दै चन्दा उठाउनेमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । हरेक वर्ष छठ पर्वको समापनसँगै शुरु हुने मेलामा गत वर्ष निकै विवाद भएको थियो । प्रहरीले दर्जनौं राउण्ड गोली चलाउनु परेको थियो । विगतदेखि मेला लाग्दै आएको भए पनि केही वर्षदेखि मेलामा विवाद हुँदै आएको छ । मेलामा हुने विवादलाई रोक्न वडा कार्यालयको पहलमा नगरपालिकाले मेला समिति निर्माण गरेपछि झन् विवाद चर्किएको हो ।

मेलाका लागि नगरपालिकाको नगरसभा तथा बोर्ड बैठकले पाँच लाख रुपैयाँ छुट्याएर मेला लगाउनका लागि समितिलाई कार्यादेश दिइसकेको छ । केही मानिसले आफ्नो स्वार्थ पूरा नहुने देखेपछि अदालतबाट मेला लगाउन नै रोक लगाउनुपर्ने माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले तत्कालका लागि मेला लगाउन रोक लगाउन मिल्ने कारण नदेखिएको आदेश दिइसकेको छ ।

मेला लाग्नेको स्थानको विषयमा पनि विवाद उठेको छ । नगरपालिकाले महाबिरी झण्डा तथा ब्रह्मबाबा पुजन कार्य मेला स्थानीय विद्यालयमा हुँदै आएकोमा नगरपालिकाले नजिकै रहेको पोखरीको ठूलो डिललाई स्थान तोकेको छ । पोखरीको डिलमा मेला सारिएपछि कतिपयले पहिले लाग्दै आएको विद्यालयमा नै मेला लाग्नुपर्ने भन्दै मेला समिति गठन गरेका छन् । विद्यालयको चौरमा मेला लगाउन उचित नहुने भन्दै अर्को समूहले विद्यालय बाहिर मेला लगाउने भन्दै तेस्रो मेला समिति पनि गठन गरेका छन् । विद्यालयभित्र र विद्यालय बाहिर मेला लगाउने भन्दै आफूखुशी मेला समिति गठन गरेका समूहहरुले स्थानीयसित चन्दा असुल गरिरहेको नगर प्रमुख जैसवारको भनाइ छ ।

मेला लगाउन, नाच, जात्रा गराउन तथा मदिरा बिक्रीका साथै जुवाबाट रकम असुल गर्न केही मानिसले महाबिरी मेलालाई बदनाम गराउन चाहेको नगर प्रमुख जैसवारको भनाइ छ । 

नगर प्रमुख जैसवारले सोमबार पत्रकार सम्मेलन गरी मेला सभ्य र भव्यरुपमा आयोजना गर्नका लागि सहयोग गर्न स्थानीयहरुलाई आग्रह गरेका छन् । मेलामा कुनै किसिमको विकृति हुन नदिनका लागि र नगरपालिकाले तोकेको ठाउँसँगै अन्यत्र सोही मितिमा मेला आयोजना गर्न दिँदा झैझगडा हुने भएकाले अन्यत्र मेला आयोजना हुन नदिन नगर प्रमुखले माग गरेका छन् । 

नगर प्रमुख जैसवारले शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारासँग तीन सय प्रहरी माग गरिएको बताउँदै नगर प्रहरी तथा स्वयंसेवकहरु पनि मेलाको व्यवस्थापन तथा शान्ति सुरक्षाका लागि परिचालन गरिने बताए । नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेला लाग्न नहुने र सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने जैसवारको तर्क रहेको छ । 

यता सोही नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता लक्ष्मी यादवले वडाको अनुमति बिना कुनै किसिमको मेला, नाटक, झाँकी, नाच गर्न नहुनेमा जोड दिए । सो अवसरमा वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन, शिक्षा सहायक प्रमुख मुकेश कुमार सिंह, भैयाराम यादवलगायतको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise