प्यूठान : लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले प्यूठान जिल्लाका धेरै ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको भोलिपल्टदेखि प्यूठान नगरपालिका वडा नम्बर ७ डल्लेमा लाग्ने 'सराएँ विशेष' मेलाको एक भव्य समारोहबीच उद्घाटन गर्दै मन्त्री राणाले प्यूठानको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्यूठान नगरपालिका-७ डल्लेमा भाइटीकाको भोलिपल्ट सोमबारदेखि शुरु भएको सराएँ मेलामा पहिलो दिन हजारौं दर्शकले अवलोकन गरेका छन् ।
शास्त्रीय किम्बदन्तीअनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयालीसहित यहाँ वर्षेनी भाइटीकाको भोलिपल्ट 'सराएँ' मेला लाग्ने स्थानीय पत्रकार जोगेनद्र मल्लले बताए ।
नाङ्गो तरबार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समूह जम्मा भएर सराएँ नाच्ने गर्छन् । सो ठाउँमा हुने विशेष मेलामा पहिले-पहिले पुरुषले मात्र सराएँ नचाउने गरेकोमा अहिले महिलाले समेत सराएँ नचाउन शुरु गरेका छन् । बाजाको तालमा सराएँ नचाउने गरिएको स्थानीय प्रकाश पोख्रेल बताउँछन् । सो डल्लेमा सराएँ हुनुको मुख्य कारण “राक्षसी राजाले जनतालाई दुःख दिएको भन्ने किम्बदन्ती छ,” उनी भन्छन्, “राक्षसलाई मारेको खुशीयालीमा जनताले तरबार नचाएर खुशी साटेको भन्ने भनाइ छ ।” स्थानीय अनुभवी दामोदर भट्टराई सराएँ मेलामा प्रदर्शन गरिने सराएँ युद्ध कौशलको रुपमा लिने गरिएको बताउँछन् ।
यस्तै मेलामा रमाइलोका लागि विभिन्न स्थानीय नाचसमेत देखाउने गरिन्छ । स्थानीय किसान, उद्यमीले उत्पादन गरेका वस्तुहरुको किनबेच हुनेगर्छ । जसले गर्दा स्थानीय उत्पादनको बिक्री र बजारीकरणमा सहयोग मिलेको प्यूठान उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । जिल्लाका विभिन्न ठाउँमा लाग्ने यस्ता मेलाले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बिक्री वितरण गर्न सहज बनाएको उनको तर्क छ ।
मेलामा जिल्लाभित्रका मात्र नभएर बाहिरी जिल्लाबाट पनि मानिसहरु यहाँ आइपुग्छन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले समेत बजेट छुट्याउन थालेका छन् । प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले पालिकाभित्रका स्थानीय मेलाको संरक्षण र व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेटसहितको कार्यक्रम बनाउँदै सहयोग गर्दै आएको बताए । सो मेलाको उद्घाटन कार्यक्रममा मन्त्री राणासहित लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।