–ललितकुमार यादव
नेपालमा नेता धेरै छन् तर, असल नेताको खोजी जारी छ । राजनीतिक दलमा आबद्ध हुने, पद पाउने र चुनाव जितेपछि नेता हुने हाम्रो समाजको चलन रहेको छ । समाजको अगुवाइ गर्ने, जनतालाई संगठित गर्ने र सामूहिक (समुदायको) मुद्दाको नेतृत्व गर्नेलाई खासमा नेता मान्नु पर्ने हो । तर, हाम्रो देशमा यस्तो भएको छैन् । नेताले समाजको उत्तरदायित्व लिनुपर्छ । नेताले जनताको विश्वास जित्न र जनताको विश्वासमा खरो उत्रिन सक्नुपर्छ । समाजलाई सही बाटो देखाउन र नेतृत्व गर्न सक्नुपर्छ । तर, हाम्रा नेताहरूले समाजको उत्तरदायित्व लिन चाहेको देखिँदैन् न त जनविश्वास नै जित्न सकेको देखिन्छ । सबै आफ्नै स्वार्थ पूर्ति गर्ने चक्करमा छन् । देश र समाजको स्वार्थले कसैलाई छुनसमेत सकेको छैन् । तर पनि समाजमा तिनीहरू नै नेता कहलिएका छन् । यसमा दोष नेता कि जनताको ? हाम्रो समाजमा यो प्रश्न गम्भिर छ ।
पार्टीहरूमा नीतिभन्दा नेता हाबी छन् । देशमा कानुन, विधि, विधान, प्रक्रिया र पद्धतिमा चलेको आम जनताले विश्वास नै गरेका छैनन् । राजनीतिक दल र तिनका नेताहरूको व्यवहार र कार्यशैलीकै कारण उनीहरू आम जनताको शंकाको घेरामा पर्दै आएका छन् । जबकी उनीहरूको व्यवहार, जीवनशैली तथा कार्यशैली समाजको लागि आदर्श र उदाहरणीय हुनुपर्थ्यो । उनीहरूको कामले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्थ्यो । तर, ठ्याक्कै यसको विपरित हाम्रो समाजमा राजनीतिप्रति घृणा र नेताप्रति वितृष्णा बढ्दो छ ।
अहिले पनि हामी जो कोहीले एउटा बूढो मान्छे जसले ठूलो सिसा भएको चश्मा लगाएको र हातमा लाठी लिएको तस्विर देख्ने बित्तिकै महात्मा गान्धीलाई सम्झिन्छौं । अर्को एउटा बूढो मान्छे, जसको एउटा हातमा सुराही, काखीमा छाता च्यापेको र अर्को हातमा टिनको बाकस बोकेको तस्विर देख्ने बित्तिकै किसुनजी अर्थात् कृष्ण प्रसाद भट्टराईलाई सम्झिन्छौं । त्यस्तै जनताको बहुदलीय जनवादको कुरा आउनसाथ मदन भण्डारीलाई सम्झिन्छौं । नेपाली कांग्रेस भन्ने बित्तिकै बिपीलाई सम्झन्छौँ । जननेता मदन भण्डारीलाई जनताको मन मष्तिष्कमा बस्न प्रधानमन्त्री र मन्त्री हुनु परेन । उनको विचारले नै जनताको मन मस्तिष्कमा उनलाई स्थापित गरिदियो । अहिले पनि एमालेजन मदन भण्डारीको कार्यकर्ता हुनुमा र कांग्रेसजन बिपीको कार्यकर्ता हुनुमा गर्व गर्छन् । तर, भण्डारीले देखाएको बाटोमा अहिले न एमालेजन हिँडेका छन् न त बिपीले देखाएको बाटोमा कांग्रेसजन नै छन् । कुनै पनि पार्टी र नेता आफ्नो सिद्धान्त र विचारमा अडिग छैनन् ।
यसो भनिरहँदा अहिलेका नेताहरूले पनि ठ्याक्कै महात्मा गान्धी र किसुनजी जस्तै पहिरन लगाउनुपर्छ भनेर कदापि भन्न खोजिएको होइन । केवल नेताको जीवनशैली समाजको लागि उदाहरणीय र समाजको लागि आदर्श हुनुपर्ने भनेर भनिएको हो । नेताहरूको जीवनशैली देश सुहाउँदो तथा समाजले सजिलै पचाउन सक्ने खालको र आफ्नो धरातल नबिर्सिएको हुनुपर्छ भनेर भन्न खोजिएको हो । निष्ठा, इमान्दारिता, देश र जनताप्रतिको लगाव र दूरदर्शिता बीपी र भण्डारी जस्तो हुनुपर्ने कुरालाई संकेत मात्र गर्न खोजिएको हो । आफैले आदर्श मानेका पात्रले सिकाएका निष्ठा र इमान्दारिताको राजनीति अहिलेका नेताहरूले बिर्सिंदै गएकोमा सम्झाई दिन खोजिएको हो ।
त्यागी र लौह पुरुष तथा २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहले सार्वजनिक रूपमै नेपाली जनतालाई ‘भेडा’ भनेका थिए । उनको यो अभिव्यक्तिमा धेरै आक्रोश र केही मात्रामा यथार्थ पनि मिश्रित थियो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापनापछि भएको आमनिर्वाचनमा असल उम्मेदवारलाई जनताले पराजित गरेको अनुभूत गरेका उनले आक्रोशमा यो अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिमा आफ्नी श्रीमती र पुत्रको पराजयलाई पचाउन नसकेको आक्रोश धेरै मात्रामा थियो भने सन्त नेता कृष्णप्रसाद भट्टराईलाई जनताले पराजित गरेर असल उम्मेदवारलाई पराजित गरी दिएको यथार्थ पनि केही मात्रामा थियो ।
कुनैबेला जनताले नानीमैयाँ दाहाल जस्तो अराजक प्रवृत्तिका नेतालाई अत्याधिक मतले जिताएका थिए । कृष्णप्रसाद भट्टराई जस्ता त्यागी, सन्त, विद्वान र अन्तर्राष्ट्रिय उचाइ भएका नेता चुनावमा पराजित हुनु परेको कारणले गणेशमानले आवेगमा आएर नेपाली जनतालाई भेडा भनेका थिए । त्यसयता जनताको साथ पाएसम्म जनतालाई क्रान्तिकारी देख्ने, तर आफ्ना स्वार्थ पूरा गर्न जनताको साथ नपाउँदा तिनै जनतालाई भेडा देख्ने नेताको चरित्र नै बनिसकेको छ ।
नेतृत्व परिवर्तनको विषयले निकै चर्चा पाएको कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिले पनि निकै चर्चा पाएको थियो । उक्त समारोहमा उनले नेता गाउँमा जाँदा जनताले अचेल “नेतालाई कुन चाहिँ चोर आएछ भन्छन्” भनेर अभिव्यक्ति दिएका थिए । उनले जे कारणले पनि यो अभिव्यक्ति दिएको भएपनि नेताहरूले आफूहरूप्रतिको घट्दो जनविश्वास र बढ्दो वितृष्णालाई बुझ्ने प्रयास गर्नुपर्थ्यो । यथार्थ मनन गरी त्यसो हुनुमा आफ्नै व्यवहार र कार्यशैली कारक रहेको बुझ्नु पर्थ्यो । तर सोही समारोहमा उनीपछि बोलेका अन्य दलका नेताहरूले उनको अभिव्यक्तिको प्रतिवाद गरे । आफ्ना व्यवहार र कार्यशैलीमा सुधारको कुनै आवश्यकता नै महसुस गरेनन् । सुधारको प्रतिबद्धता गरेनन् ।
यसले नेताहरू गाउँघरमा के भइरहेको छ र लिङ्देनको अभिव्यक्तिमा सत्यता छ की छैन् भनेर बुझ्नसमेत नखोजेको संकेत गरेको थियो । नेताहरू भुइँमान्छेको कुरा सुन्न नै नचाहेको र गणेश प्रवृत्ति भएकाहरूका कुरा मात्र पत्याएर रमाउँदै आएको प्रष्ट भएको थियो । साँघुरो घेरामा रहेर कोही कसरी राज्यको नेतृत्व गर्न सक्छ । दल र नेताहरूले भुइँ मान्छेको आवाज सुन्न नचाहेको र समाजलाई के चाहिएको छ भनेर बुझ्नसमेत नखोजेको संकेत थियो ।
समाजमा तात्त्विक परिवर्तन ल्याउन सर्वप्रथम आफ्ना व्यवहार र कार्यशैलीमा सुधार गर्नुपर्ने यथार्थलाई नेताहरूले सिधै अस्वीकार गरेका थिए । सो समारोहमा लिङ्देनले जोड दिएका अन्य कुरामा कुनै नेताले ध्यान गएको थिएन । उनले दल र नेताहरूमा सुधार गर्नुपर्ने अन्य विषयहरू समेत उठाएका थिए । तर, सुध्रिन र सुधार गर्नेतर्फ कुनै नेता गम्भिर भएका थिएन । सबै नेता चोर शब्दकै पछि लागेका थिए । सबै नेता चोर नै हुन भनेर पक्कै पनि लिङ्देनको अभिव्यक्तिको आशय थिएन होला । आमजनतामा नेताप्रति रहेको साझा धारणा र आक्रोशको रूपमा नेताहरूले लिङ्देनको सो अभिव्यक्तिलाई लिनुपथ्र्यो र सुधारको प्रतिबद्धता नेताहरूबाट आउनुपर्थ्यो ।
जनताबिना नेताको न कुनै हैसियत हुन्छ, न त अस्तित्व नै हुन्छ । अर्थात् नेता जहिले नै जनतामा आश्रित हुन्छ । दल र नेताको शक्तिको स्रोत जनता नै हुन् । समाजलाई नेतृत्व गर्न समाजकै बीचबाट नेताको जन्म हुन्छ । जनता र समाजलाई सही बाटो देखाइदिने र कुशल नेतृत्व प्रदान गर्नु नेता वा नेतृत्वको काम हो । नेता असल भए जनता र समुदायले कुशल नेतृत्व पाउँछ । अग्रगामी समाज बनाउन र सामाजिक परिवर्तन सम्भव हुन्छ । नेता खराब भए जनता र समाजकै दुर्गती हुन्छ । समाजले प्रतिगमनको बाटो समात्छ र सामाजिक परिवर्तन असम्भव हुन्छ । कतिपयले जनता नै खराब छन् अनि कहाँबाट असल नेता जन्मिन्छ भनेर भन्ने गरेको सुनिन्छ । जनताको चेतनास्तरअनुसार नै नेता जन्मिने हो भनेर भन्नेहरू पनि हाम्रो समाजमा छन् । जनताको चेतनास्तर राम्रो भयो भने नेता असल नभई सुखै पाइँदैन । यो पनि सही हो । तर, जनता खराब भएकै कारण नेता पनि खराब भएको हो भन्ने कुरा कदापी सही होइन । यसलाई स्वीकार्नु भनेको सामाजिक परिवर्तनलाई नकार्नु हो ।
जनतालाई चेतना र सचेतना दिने काम राजनीतिक दल र नेताकै हुन् । जनता र समुदायको चेतनास्तर नउठाई कुनै असल नेताले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । असल नेता आफू सफल हुनैका लागि भएपनि जनता र समुदायको चेतनास्तरलाई उठाउनै पर्ने बाध्यतामा हुन्छ । खराब नियत भएका नेताले मात्रै जनता र समुदायमा चेतनाको विकास नहोस् भन्ने चाहना राख्छ । किनकी चेतनाको विकास भैसकेको समाज र जनताले आफ्नो अधिकार खोज्छ, सही र गलत छुट्टयाउनु सक्छन्, असल नेतृत्वको विकास गर्न सक्षम हुन्छ भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा हुन्छ । चेतनाको विकास हुँदै जाँदा जनता र समाजले आफूलाई सुहाउने नेतृत्व चयन गर्छ । तसर्थ, असल नेता समाजमा चेतनाको विकास होस् भने चाहना राख्छ र त्यसको लागि प्रयास पनि गर्छ, भने खराब नेता जनतामा चेतनाको विकास होस् भनेर चाहँदैन । त्यसको विपरित जनतालाई अल्छी, बेइमान, लोभी र पापी बनाएर आफ्ना निजी स्वार्थ पूरा गर्ने दाउमा हुन्छ ।नेताले जनता र समाजसँग हातेमालो गर्न सक्नुपर्छ । उनीहरूको क्षमताको उचित र उच्चतम् प्रयोग गर्न सक्नुपर्छ । हरेक परिस्थितिको सामना गर्दै आफ्नो लक्ष्य प्राप्त गर्नुपर्छ । नेताले आफ्नो लक्ष्य प्राप्त गर्न जनतासँग मिलेरै प्रयास गर्नुपर्छ । नभए उसले लक्ष्य प्राप्त गर्न सक्दैन । अब भन्नुहोस् जनता खराब भएर नेता खराब भएका हुन् कि नेता आफू असल नरहेका कारण जनतालाई पनि खराब बनाई राखेका छन् ? अर्थात् खराब को हुन्, जनता कि नेता ? यो प्रश्न आमपाठकहरूकै लागि छोड्न चाहन्छु ।