२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सार्वजनिक बिदाको बेथिति

ADV
२०८१ असार ४ गते ०६:३५
सार्वजनिक बिदाको बेथिति

मुसलमान समुदायको पर्व बकर इद मनाउन सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो । सरकारी बिदापछि मुसलमान समुदायलाई बकर इद मनाउन थप सजिलो भयो । अरु समुदायलाई पनि सार्वजनिक बिदाको लाभ मिल्यो । सरकारले इदका दिन सार्वजनिक बिदा दिने निर्णय दुई दिन अगाडि मात्र गरेको थियो । नियमित पात्रोमा भने थिएन । नियमित पात्रोमा नभएकाले सार्वजनिक बिदाका निम्ति दबाव सिर्जना भएको थियो । धर्म निरपेक्ष मुलुकमा कुनै धर्म विशेषबीच विभेद गर्न मिल्दैन । त्यसैले इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णयको स्वागत गरिनुपर्छ । बकर इदको अवसरमा मुसलमान समुदाय र अरुबीच पनि शुभकामना आदानप्रदान गरिनुपर्छ । बदलिएको जीवन प्रणाली बमोजिम सामाजिक सञ्जाल अथवा भौतिक रुपमा भेटेर इदको शुभकामना आदान–प्रदान भयो पनि । 

तर पूर्वनिर्धारित तालिका नहुँदा सार्वजनिक बिदाको निर्णय उति प्रभावकारी नबन्नु स्वभाविक हो । यस्तो बेथिति नौलो होइन । वर्षेनि सार्वजनिक बिदाबारे सरकारले गर्ने निर्णय सधैं विवादमा पर्दै आएको छ । २०८१ सालका निम्ति राजपत्रमा प्रकाशित सूचना बमोजिम २७ दिन पर्व बिदा दिइएको छ । यो २७ दिनभित्र बकर इद थिएन । ६ वटा दिवस र २ वटा जन्म जयन्ती बिदा दिने सरकारी निर्णय राजपत्रमा प्रकाशित छ । तर राजपत्रमा प्रकाशित दिनहरु बाहेक पनि सार्वजनिक बिदा हुने पक्का छ । बकर इद आफैमा एउटा उदाहरण हो । वषेनि पृथ्वीनारायण शाहको जन्म जयन्तीबारे अलगअलग निर्णय हुँदै आएको छ । 

लोकतान्त्रिक आन्दोलनसँग जोडिएका दिनहरुबारे सरकार अनुसार सार्वजनिक बिदाको निर्णय हुने गरेको छ । जबकी त्यस्ता दिनहरुमा सार्वजनिक बिदा नदिएर रचनात्मक गतिविधि गर्नुपर्ने सुझाव नआएका होइनन् । पर्व बिदा पनि सम्बन्धित समुदायलाई मात्र दिने गर्न सकिने विकल्प बेलाबेला उठ्ने गर्छ । जस्तो– तीजमा महिलालाई मात्र बिदा दिइने गरेको छ । तर त्यसरी सार्वजनिक बिदाबारे वैज्ञानिक विधि उपयोग हुन सकेको छैन । सार्वजनिक बिदा दिइनुपर्ने आवश्यकताबारे आवश्यक छलफल समेत भएको देखिदैन । हिजो राजामहाराजाले सार्वजनिक बिदा दिएकाले अहिले पनि त्यसैको सिको हुँदै आएको देखिन्छ । जबकी पर्व, दिवस र जन्मसँग सम्बन्धित दिनहरुमा बृहत र रचनात्मक गतिविधि गर्न सकिने सुझाव मनासिब नै देखिन्छ । आगामी दिनमा यसतर्फ ध्यान जान जरुरी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise