२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

गच्छे-भालुवाङ सडक कालोपत्रे गरिँदै

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २१ गते २०:४०
गच्छे-भालुवाङ सडक कालोपत्रे गरिँदै

सन्धिखर्क : सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले सडक निर्माणको कार्यलाई प्रभावकारी रूपमा फास्ट ट्रयाकमार्फत द्रुत गतिमा अघि बढाएसँगै जिल्लाभर सडक निर्माणको कामले गति लिएको छ । अर्घाखाँचीको गौरवको योजना गच्छे भालुवाङ सडकको लामा तालसम्म सडकको ग्राभेल गर्ने काम सकिएपछि अहिले सन्धिखर्क ७ खाचिकोट गच्छे खोलाबाट ढिकुरासम्म ५ किलोमिटर कालोपत्रे गर्ने काम शुरु भएको छ । सडकमा अम्मर निर्माण सेवाले कालोपत्रेको तयारी अगाडि बढाएको कार्यालय प्रमुख गोपिराज पुनले जानकारी दिए ।

कार्यालय प्रमुख पुनका अनुसार  कार्यालयले ठूला साना गरी दर्जनौं  आयोजनाका कामहरू द्रत गतिमा अगाडि बढेको छ । उनले भने, ‘प्रदेश सरकारको योजना अनुसार हामिले अहिले असोज महिनाभित्र सबै योजनामाको टेन्डर लगाउने तयारी गरेका थियौं । बीचमा चाडपर्व परेको कारण केही योजनाको काम बाँकी छ, तर कात्तिक महिनाभरीमा बाँकी रहेका योजनाहरुको टेन्डर गर्ने गरी कार्यालय अगाडि बढेको छ ।’

कार्यालयले सडक निर्माण र केही ठाउँमा पुल निर्माणको कामलाई गत वर्ष जस्तै  निरन्तरता दिएको छ । जिल्लामा केही ठूला बहुवर्षीय आयोजना चाड पर्वका कारण निर्माणको काम रोकिएको भएपनि अब ती योजनाहरुमा काम द्रुत गतिमा अगाडि बढेको पुनले दाबी गरे । 

भूमिकास्थान नगरपालिका टोड्केदेखि लामातालसम्म ३० किलोमिटर सडक गतवर्ष ग्राभेल गर्ने काम सम्पन्न भएको भएपनि यस वर्ष परेको अविरल वर्षाका कारण केही ठाउँमा क्षति पुर्‍याएकोले ती ठाउँहरुमा मर्मत सुधार गरी बाटो सुचारु गरिएको छ । 

गत असार महिनामा टेन्डर गरेको सन्धिखर्क ७ गच्छेखोलादेखि भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरासम्म ५.५० किलोमिटर कालोपत्र गर्ने काम पनि यस वर्ष शुरु भएकोले काम छिटो हुने तर बजेटको समस्या यथावत् रहेको  पुनले सुनाए । पुनका अनुसार मालारानी पहुँचमार्ग अन्तर्गत पर्ने चेहेनडाडा डिभर्ना खन खनदह डाँडाकटेरी सडकको काम अहिले द्रुत गतिमा अगाडि बढिरहेको छ । सिद्धार्थ अम्मर जेभीले २०७९ सालमा सम्झौता गरी यस वर्ष सो काम  सम्पन्न गर्ने गरी कार्यालयसँग सम्झौता गरेको सडकमा  अहिले ४० प्रतिशत वित्तीय प्रगति ५० प्रतिशत भौतिक प्रगति भएको कार्यालयमाको दावी छ । 

बहुवर्षीय सडक भएको कारण निर्माण व्यवसायी बसन्त भुसालले २० करोड ७० लाख ८९ हजार ५ सय पच्चीस रुपैयाँमा सडक कार्यालय अर्घाखाँचीसँग सम्झौता गरी काम शुरु गरेको र काम समय अगावै पैसा सरकारले दिएमा पूरा गर्ने लक्ष्य राखिएको व्यवसायी भुसाल बताउँछन् । अहिले काम द्रुत गतिमा अगाडि बढेको छ । सडक पूर्वाधार कार्यालयको प्रदेश गौरवको आयोजना  सन्धिखर्क धारापानी चुजाठाँटी सडक पनि हो । रामपुर–कपुरकोट सडक योजनाको काम पनि अहिले अगाडि बढिरहेको छ । यो सडकको भौतिक प्रगति झण्डै ६० प्रतिशत भएको छ भने २०७८ सालमा एसपी व्रदर्स अर्याल जेभीले २५ करोड ८६ लाख ९६ हजार ६ सयमा सम्झौता गरी काम शुरु गरेको सडक यस वर्ष सम्पन्न गर्नुपर्ने निर्माण व्यवसायीलाई बाध्यता भएको कार्यलय प्रमुख पुनले बताए ।  

पुनका अनुसार सडक कार्यालय अर्घाखाँचीसँग २०७७ सालमा सम्झौता गरी कन्काई जयमाता अम्बर जेभीले २१ करोड ८४ लाख ९ हजार ८ सय ६४ रुपैयाँको लागतमा डिभर्ना जर्रे दोला धारापानी छत्र गन्ज मोडलेचौर सिमिचौर जोड्ने सडकको सडकको भौतिक प्रगति ६० प्रतिशत भन्दामाथि रहेको छ । यो सडकको काम  द्रुत गतिमा अगाडि बढ्न सकेको छैन । निर्माण व्यवसायीले सडकको काम यस वर्ष सम्पन्न गर्ने बताएपनि काम सम्पन्न हुने सम्भावना कम रहेको प्राविधिकहरु बताउँछन् । 

वल्कोट–तम्घास खडकखण्डको काम निर्माण व्यवसायीको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेकोले ती व्यवसायीलाई कारबाही प्रकिया  अगाडि बढाएपछि अहिले कछुवाको गतिमा काम शुरु भएको छ । जिल्लामा ५ ओटा ठूला सडक वहुवर्षीय छन् । जुन चालू वर्षमा सम्पन्न हुने छन् । यस पटक धेरै सडकहरु निर्माण हुँदा दशैं तिहारमा अर्घाखाँची घरमा आएकाहरु जिल्लाको विकास देखेर निकै खुसी देखिन्थे ।

कार्यालय प्रमुख पुनलेले भने, ‘गच्छे भालुवाङ सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । जुन सडक जिरो किलोमिटरबाट अहिले कालोपत्रे गरिँदै छ ।’ यो सडक प्रदेश राजधानी दाङ जोड्ने सडक भएकोले अर्घाखाँची गुल्मी पाल्पाबासीका लागि यो सडक निकै महत्वपूर्ण मानिन्छ । सडकको लामातालसम्म ग्राभेल सम्पन्न भएको छ । कुनै ठाउँमा वर्षादका कारण पहिरो जाँदा क्षति पुगेपछि निर्माण व्यवसायी मर्कामा परेका थिए । सो सडकको लामातालदेखि भालुवाङसम्म यस वर्ष ट्रयाक खोल्न सकेमा सन्धिखर्कबाट २ घण्टामा प्रदेश राजधानी पुगिनेछ । जुन लुम्बिनी प्रदेशको राजधानी जोड्ने ट्रयाक खोल्न बाँकी रहेको छ । सो ठाउँमा ट्रयाक खोल्न प्रदेश सरकारले चासो दिनुपर्ने स्थानीयबासी बताउँछन् । पुनका अनुसार घुम्ती पाल्पा  सडक नरपानी नुवाकोट सडकको काम यस वर्ष सम्पन्न हुनेछन् । जुन सडकको काम गत वर्षको असारबाट शुरु भएको थियोे ।

ADVADV

सम्बन्धित खबर

Advertise