२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

एयरपोर्टको सेटिङबारे एशोसिएसनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

ADV
२०८१ कार्तिक २४ गते ०६:३५
एयरपोर्टको सेटिङबारे एशोसिएसनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिसामा नेपालीहरू असुरक्षितरूपमा वैदेशिक रोजगारमा गएकोमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यसलाई रोक्न माग गरेको छ ।

शुक्रबार गृहमन्त्री लेखकलाई उनकै कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाउँदै एशोसिएसनले नेपाल सरकारले पटक–पटक प्रतिबद्धता जनाएको भएपनि वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न नसकेको भन्दै कडाइ गर्न माग गरेको हो ।

एशोसिएसनका तर्फबाट संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटले बुझाएको ज्ञापनपत्र वाचन गर्दै महासचिव महेशकुमार बस्नेतले सरकारले विभिन्न परिपत्र जारी गरेपनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको र भिजिट भिसामा असुरक्षितरूपमा जाने क्रम निरन्तर रहेको बताए । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल वायुसेवा निगमका अधिकृतसहित काठमाडौंबाट ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई पक्राउ गरेपछि केही सुस्त बनेको भिजिट भिसाको ठगी धन्दा पुनः संगठित बनेको बताउँदै एशोसिएसनले भिजिट भिसामा गइ वैदेशिक रोजगारमा जोडिने सपनाले धेरैलाई ठगीमा पारेको बताएको छ । 

मानव तस्करीमा संलग्न गिरोहले केही महिना यूएईमा बसेपछि युरोपेली मुलुकमा सहजरूपमा जान पाउने ‘ग्यारेन्टी’ नै गर्ने गरेका कारण लाखौं खर्च गरी भिजिट भिसा प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ठूलो संख्यामा जाने गरेको एशोसिएसनको भनाइ छ ।   

नेपाल सरकारले घरेलु कामदारको रूपमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान र इराकलगायतका देशमा प्रतिबन्ध लगाएको अवस्थामा सामाजिक सञ्जालबाट विज्ञापन गरेर आकर्षक रोजगारीका नाममा ठगी गर्नेहरूले यूएईलाई सुरक्षित आश्रयस्थल बनाएर बसेको विषयमा पनि एशोसिएसनले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको छ ।

जवाफमा गृहमन्त्री लेखकले भिजिट भिसाले उत्पन्न गर्ने समस्याबारे आफू पूर्णरूपमा जानकार रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेको बताए । घुमफिरको संवैधानिक अधिकारमाथि हस्तक्षेप नगरी भिजिट भिसामा देखिएका खराबी अन्त्य गर्न आफू हरदम तयार रहेको प्रतिबद्धता पनि गृहमन्त्री लेखकले जनाए ।

ज्ञापनपत्र बुझाउन एशोसिएसनका संस्थापक अध्यक्ष एवम् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, संघ तथा एशोसिएसनका पूर्व अध्यक्ष बिमल ढकाल, एशोसिएसनका पूर्वअध्यक्षहरू किरण किशोर घिमिरे, प्रज्ञान न्यौपाने, कुमुद खनाल, पूर्वकार्यवाहक अध्यक्ष एवम् संघ महासचिव सुजित कुमार श्रेष्ठ, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विनोदजंग केसी, उपाध्यक्ष सेवन्त न्यौपाने, महासचिव महेशकुमार बस्नेतलगायतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise