२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

मधेशी जनताले धेरै अधिकार पाउन बाँकी छ : उपेन्द्र यादव

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक २६ गते २१:१४
मधेशी जनताले धेरै अधिकार पाउन बाँकी छ : उपेन्द्र यादव

रौतहट : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अझै धेरै हक र अधिकार पाउन बाँकी रहेको बताएका छन् ।

मधेशीले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानून बनाउने अधिकार नपाएसम्म आफूहरुको संघर्ष जारी नै रहने अध्यक्ष यादवले बताए ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले सोमबार गढिमाई नगरपालिका–८ विरनगरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘राज्यले सधैँ मधेश र मधेशी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेशमा सोचे जस्तो विकास हुन्’ उनले भने,‘नसकेको तथा मधेशी जनता अझै अधिकार सम्पन्न हुन नसकेको हो ।’

देशको आधाभन्दा बढी जनसंख्या मधेश प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेश पछाडि परेको उनले बताए ।

मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासक वर्गले  १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेशमा सोचे जस्तो विकास हुन नसकेको उनको भनाइ रहेको थियो ।

१२ प्रतिशत मात्र बजेटले ५४ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशको कसरी विकास हुन्छ भन्दै उनले प्रश्न गरे । मधेश र मधेशी जनता सधैँ शासक वर्गको गुलाम बनिरहोस्, मधेशमा विकास नहोस भन्ने उद्देश्यले नै राज्यले मधेशमा लगानी गर्न नचाहेको उनले टिप्पणी गरे ।

मधेशी जनताले मधेशबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म मधेशीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे ।

कांग्रेस, एमाले र माओवादीका कारण देश अहिले चरम गरिबीको चपेटामा परेको उनले आरोप लगाए ।

लोकतन्त्र स्थापना भएको ३५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएपनि कांग्रेस र कम्युनिष्टले देश बनाउन नसकेको उनले बताए ।

कांग्रेस र कम्युनिष्टले देशमा विकास गर्नुको सट्टा लुटतन्त्रमा लागेका कारण देश चरम गरिबीको भूमरीमा फसेको उनले टिप्पणी गरे । जनतालाई मालिक बनाउन लोकतन्त्र आएको भएपनि यी कांग्रेस र कम्युनिष्टले मिलेर देश र जनतालाई कंगाल  बनाइदिएको उनले बताए ।

उनले भने, ‘यही हालत रह्यो भने नेपाल विश्वकै कंगाल देश बन्ने छन ।’ लुटतन्त्रलाई रोक्न र देशलाई अझैँ कंगाल हुन नदिन संघर्षको आवस्यकता रहेको उनले औँल्याए ।

रौतहट देशमै सबभन्दा पछाडि पर्नुको जिम्मा कांग्रेस र कम्युनिष्टले लिनुपर्ने समेत उनले बताए ।

रौतहटबासीको राज्यको हरेक अंग र निकायमा कम अवसर प्राप्त भएको तथा विकाशमा सबभन्दा कम लगानी गरेको कारण रौतहट देशमै सबभन्दा पछाडि पर्नु चिन्ताको विषय भएको उनको ठम्याइ थियो ।

देशमा संघीयता आएको भएपनि संघीयता पूर्ण रूपमा लागू हुन् नसक्दा मधेशी जनता अझै धेरै अधिकार पाउनबाट वञ्चित रहेको उनले बताए ।

लामो समयदेखि सत्ताको बागडोर सम्हाल्दै आएका कांग्रेस र कम्युनिष्टले देशमा लुटतन्त्र मचाउनु बाहेक अरु केही गर्न नसकेको उनले बताए ।

कांग्रेस र कम्युनिष्टले देशको नेतृत्व गरेदेखि नै देशमा भएका सबै उद्योग, कलकारखाना बन्द भएर देश चरम गरिबी र बेरोजगारीको चपेटामा परेका कारण देश चलाउन अब कांग्रेस एवं कम्युनिष्टले पूर्ण रूपमा असफल भइसकेको उनले बताए ।

अब जनता समाजवादी पार्टी नेपालले मात्र देश बनाउन सक्ने र मधेशी जनताको बाँकी हक अधिकार दिलाउन सक्ने भएको हुँदा अबको निर्वाचनमा जसपा नेपाललाई बहुमत दिएर निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे ।

जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यतामा सम्पन्न भएको कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्का पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेशका पूर्व राज्य मन्त्री शेख फूलबाबु, प्रदेश सांसद शोभा देवी, किरण ठाकुर, युवा नेता राजकुमार दास लगायतका वक्ताहरुले आ–आफ्ना मन्तव्य राखेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise