२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

अर्घाखाँचीको भूमिकास्थानमा ३७ जनालाई अपाङ्गता परिचय पत्र वितरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २६ गते २१:१६
अर्घाखाँचीको भूमिकास्थानमा ३७ जनालाई अपाङ्गता परिचय पत्र वितरण

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा नगरपालिकाभित्र रहेका ३७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । भूमिकास्थान नगरपालिकामा अपाङ्गता परिचय पत्र पाऊ भनी निवेदन दिएका निवेदकहरुलाई नगरस्तरीय समन्वय समितिले अपाङ्गता भएका ३७ जनालाई परिचय पत्र वितरण गरेको भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली जानकारी दिए । 

नगरपालिकाले‘क’ वर्गको रातो परिचय नौ जनालाई वितरण गरेको छ भने  ‘ख’ वर्गको निलो परिचय पत्र १९ जनालाई वितरण गरिएको छ । त्यस्तै  ‘ग’ वर्गको पहेलो परिचय पत्र ७  जना र ‘घ’ वर्गको सेतो परिचय पत्र २ जना लाई डाक्टर हरुको सिफारिसको आधारमा परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले मध्यान्हलाई जानकारी दिए । 

नगर पालिकामा  अपाङ्गता परिचय पत्र वितरणका लागि अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरणकार्यविधि २०७५ तयारी पारिएको उक्त कार्यविधि अनुसार नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समिति गठन गरिएको  नेपालीले जानकारी दिए ।

कार्यविधि अनुसार पुर्ण अशक्त अपाङ्गता भएकालाई ‘क’ वर्गको, अति अशक्त अपाङ्गता भएकालाई ‘ख’ वर्गको, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्गको र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिन्छ । अपाङ्गता परिचयपत्र वितरण समितिको संयोजक एवम् नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडेले कार्यविधि भित्र रहेर नगरले अपाङ्गता परिचय पत्र वितरण गरेको दाबी गरे  । उनले अपाङ्गताको वर्गिकरणको आधार डाक्टरको चेकजाँचपछि तय हुने जानकारी दिए ।

४ किसिमको अपाङ्गता परिचय पत्र पाएकाहरुमध्ये ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकहरुले संघीय सरकारको कार्यक्रम अन्तर्गत नगरबाट भत्ता पाउँदै आएका छन् । ‘क’ वर्गकाले मासिक ४ हजार र ‘ख’ वर्गकाले मासिक करिब २ हजार १ सयका दरले भत्ता पाउँदै आएका छन् । 

‘ग’ र ‘घ’ अपाङ्गता भएका व्यक्तिलाई नगरले आयआर्जनका तालिम दिएर भत्ता खुबाएको र आत्मनिर्भर बनाउको लागि नगरले तालिम समेत दिएको महिला बालबालिका शाखा प्रमुख शान्ता आचार्य भुसालले बताइन् ।

भूमिकास्थान  नगरपालिकाको कार्यविधि अनुसार अपाङ्गता भएको परिचय पत्र पाउनको लागि वडा कार्यालयमानै निवेदन दिनुपर्छ । उक्त निवेदन वडा कार्यालयले  नगरमा सिफारिस गर्नुपर्ने मापदण्ड कार्यविधिमा रहेको छ । 

उक्त निवेदन र सिफारिस नगरस्तरीय समन्वय समितिको बैठकमा पेश गरेर आवश्यक प्रक्रिया पुरा गरी अपाङ्गता परिचय पत्र पाउने प्रावधान रहेको छ । भूमिकास्थान नगरपालिकाले जनताको नजिकैको सरकार स्थानीय सरकार भएकोले जनतालाई गाउँ टोलमा पुगेर सेवा दिने तयारी गरेको छ । नगरपालिकाले अर्घाखाँचीमा रचनात्मक काम गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise